माओवादीको समानुपातिक बन्दसूचीबाट कृष्णबहादुर महराको नाम हटाइयो
काठमाडौं,असोज १७ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाइएको छ । निर्वाचन आयोगले समानुपातिकको बन्द सूचीमा रहेकाहरूको नाम सच्याउन दिएको अन्तिम समयमा आएर महराको नाम हटाएको हो ।
२०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएपछि महराकै इच्छामा उनको नाम हटाइएको माओवादी केन्द्र स्रोतले पुष्टि गरेको छ ।
बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम तय गरिएको थियो । निर्वाचन आयोगमा उम्मेदवारी फिर्ताबारे विस्तृत विवरण सङ्कलन हुने क्रम जारी छ ।

