अन्नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक



लमजुङ,असोज २३ । अन्नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटक लमजुङतर्फ फर्किन थालेका छन् । मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरू बुधवारदेखि पुन: लमजुङतर्फ नै फर्किएका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङले भने, ‘वर्षा हुनु अघिसम्म दैनिक ८० भन्दा बढी पर्यटक यस पदमार्गबाट मनाङ जिल्ला हुँदै गन्तव्य पार गर्ने गरेका थिए । तर निरन्तरको वर्षाले पदमार्ग समेत बिग्रिन थालेको र मनाङको माथिल्लो भेगमा हिमपात हुन थालेपछि उनीहरू अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नै फर्किन थालेका छन् ।’ शनिवार बिहान मात्र चामे गाउँपालिकामा अलपत्र ८५ पर्यटक फर्किएको उनले जानकारी दिए ।

त्यस्तै, बिहीवार १५० र बुधवार ४० जना पर्यटक फर्किएका थिए ।  त्यस्तै, पदमार्गमा जान लमजुङमा आइपुगेका पर्यटकहरू समेत बेँसीशहरमै रोकिएर बसेका छन् । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकीय सिजनकै बेला यतिबेला फेरि व्यवसाय सुनसान हुन थालेको पर्यटन व्यवसायीको भनाइ छ । ‘यतिबेला एक छिन पनि फुर्सद हुँदैनथ्यो, तर वर्षाले पर्यटक आगमनमा समस्या भएपछि व्यवसाय सुस्ताएको छ,’ पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने ।

अहिले मनाङका खर्क तथा घाँसेमैदान हरियो हुन्छ । साथै फापर र उवा फुलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । अधिकांश पर्यटक विशेषगरी थोराङपास, लार्केपास र कालापास गर्ने गर्दछन् भने केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिकामा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्