तालीम नलिए यूरोपमा घरेलु काम गर्न नपाइने



काठमाडौं,असोज २३ । तालीम नलिएका कोही पनि घरेलु कामदारका रूपमा यूरोपेली मुलुकमा जान नपाउने भएका छन् । सरकारले अबदेखि घरेलु कामदारका रूपमा यूरोपेली मुलुक जाने नेपाली श्रमिकले अनिवार्य तालीम लिनुपर्ने व्यवस्था गरेको हो । केही समययता नेपाली युवायुवती रोजगारीका लागि रोमानिया, पोर्चुगल, पोल्यान्डलगायत मुुलुक जाने गरेको, तर घरेलु कामदारको तालीम नलिएको पाइएपछि उक्त व्यवस्था गर्नुपरेको वैदेशिक रोजगार बोर्डले बताएको छ ।

केही म्यानपावर कम्पनीले अभिमुखीकरण तालीम नदिई यूरोपेली मुलुक पठाउने गरेको पाइएपछि अनिवार्य तालीमको व्यवस्था गरिएको विभागको भनाइ छ । घरेलु कामका लागि वैदेशिक रोजगारीमा पठाउने सम्बन्धी निर्देशिका, २०७२ मा घरेलु कामदारका रूपमा विदेश जानुपूर्व कम्तीमा ३० कार्य दिनको तालीम लिनुपर्ने व्यवस्था गरिएको छ ।

विभागले घरेलु कामदार अभिमुखीकरण तालीमसम्बन्धी कार्यविधि, २०७० अनुसार तालीम प्रदान गरेर मात्र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्न म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ । यस्तो व्यवस्थाले यूरोपमा घरेलु कामदारको रूपमा जानेहरू सुरक्षित हुने विभाग अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्