कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित



काठमाडौं,कात्तिक १४ । कर्णाली प्रदेशका हिमाली जिल्लाका उच्च क्षेत्रमा हिमपात र वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका विभिन्न उच्च क्षेत्रमा हिमपात भइरहेको छ ।

स्थानीयका अनुसार डोल्पाको शे–फोक्सुन्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिका, हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी र कनकासुन्दरी गाउँपालिका तथा कालीकोटको तिलागुफा नगरपालिकामा हिमपात भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले तल्लो डोल्पामा वर्षा र माथिल्लो डोल्पाका विभिन्न क्षेत्रमा हिमपात भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिक १२ गतेदेखि माथिल्लो डोल्पामा पदयात्रीलाई जान रोक लगाइएको छ । यसअघि गएका पदयात्रीको अवस्थाबारे पनि जानकारी लिने काम भइरहेको छ ।

सम्भावित विपद्को जोखिम आकलन गरी उद्धार तथा राहतका लागि सबै सरोकारवाला निकायलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । कमाण्ड पोस्टको बैठक बसेर जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास कार्यालय तथा स्थानीय तहसँग समन्वय गरिएको छ ।

यस्तै, मुगुका प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीका अनुसार शुक्रबार साँझ ५ बजेदेखि निरन्तर मध्यम वर्षा भइरहेको छ । वर्षाका कारण पहिरोको जोखिम बढेपछि सवारी आवागमन रोक्न प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।

मुगुमा टेलिफोन नेटवर्क र प्रहरी सञ्चारसमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उहाँले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर सम्भावित जोखिम तथा विपद्को अवस्थामा उद्धार र व्यवस्थापनका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन समन्वय गरिएको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले हिमपातका कारण नाम्खा गाउँपालिकाको हिल्सा, लिमी र लाप्चा जाने बाटो बन्द भएको जानकारी दिनुभयो । वर्षा र हिमपातको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, रेडक्रस, स्वास्थ्य संस्था, खानेपानी कार्यालय र स्थानीय तहलगायत सरोकारवाला निकायलाई तयारी अवस्थामा राख्ने निर्णयसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्