सत्याग्रहको तेस्रो दिनमै डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल



इलाम,कात्तिक १४ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलाममा २५औँ पटक सत्याग्रहमा बस्नुभएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था तेस्रो दिनमा जटिल बन्दै गएको छ ।

इलामको नारायणस्थान मन्दिर परिसरस्थित भवनमा सत्याग्रह गरिरहनुभएका डा. केसीको स्वास्थ्य परीक्षण इलाम अस्पतालको प्राविधिक टोलीले निरन्तर गरिरहेको छ ।

इलाम अस्पतालका प्रमुख डा. अमिताभ ठाकुरका अनुसार डा. केसीको मुटुको धड्कन कम हुँदै गएको छ भने शरीरमा ग्लुकोजको मात्रा पनि घट्दै गएको छ । उहाँको स्वास्थ्य अवस्था क्रमशः जटिल बन्दै गएको डा. ठाकुरले जानकारी दिनुभयो ।

सत्याग्रहको तेस्रो दिनसम्म आइपुग्दा पनि राज्य पक्षबाट माग सम्बोधनका लागि आवश्यक पहल नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले डा. केसीको स्वास्थ्य परीक्षण निरन्तर भइरहेको जानकारी दिनुभयो ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा सुधार, सर्वसाधारणको सहज पहुँच र गुणस्तरीय स्वास्थ्य सेवाको माग राख्दै डा. केसीले इलामबाट आफ्नो २५औँ सत्याग्रह सुरु गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्