प्रेस स्वतन्त्रता हननका घटनामा दोषीलाई कारबाही गर्न रास्वपाको निर्देशन



काठमाडौं,कात्तिक १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार तथा सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर सोधपुछ गर्ने र समाचार कक्षमै प्रहरी प्रवेश गरी गतिविधि गर्ने घटनाको छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

पार्टी मुख्यालयमा शनिबार सम्पन्न सचिवालय बैठकले प्रेस स्वतन्त्रताविरोधी गतिविधिमा संलग्नलाई कुनै सम्झौता नगरी कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

बैठकले पत्रकार तथा सञ्चारकर्मीमाथि सोधपुछ वा पक्राउ गर्ने तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी भएका गतिविधि किन र कसको निर्देशनमा भए भन्ने विषयमा निष्पक्ष छानबिन गर्न सरकारलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

प्रवक्ता खरेलका अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र मानव अधिकारको सम्मान गर्नु पार्टीको प्रतिबद्धता हो । समाचार लेखेकै आधारमा कुनै पनि सञ्चारमाध्यम, प्रकाशक, प्रसारक वा पत्रकारले धरपकड तथा दबाबको अवस्था भोग्न नपरोस् भन्नेमा पार्टी स्पष्ट रहेको उहाँको भनाइ छ ।

बैठकले आगामी दिनमा प्रेस स्वतन्त्रता हनन तथा पत्रकारमाथि धरपकडका घटना दोहोरिन नदिन सरकारलाई सचेत गराउँदै दोषीमाथिको कारबाहीमा ढिलासुस्ती नगर्नसमेत आग्रह गरेको छ । प्रवक्ता खरेलले प्रेस स्वतन्त्रताको सवालमा रास्वपाले कसैसँग सम्झौता नगर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्