समानुपातिकको बन्दसूचीमा २९ गतेसम्म दाबी विरोध गर्न सकिने
काठमाडौं,असोज २५ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ ।
विभिन्न राजनीतिक दलले संशोधन गरी पेश गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्यताका सम्बन्धमा दाबी विरोधको निवेदन दिन आइतवारदेखि समय दिइएको हो । उम्मेदवारबारे प्राप्त दाबी विरोधको छानबिन गरी निर्वाचन आयोगले कात्तिक ९ गते अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका सचिव एवं समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले जानकारी दिए ।
समानुपातिकतर्फ सिट प्राप्त गर्न कुनै पनि दलले प्रतिनिधिसभामा कुल सदर मतको तीन प्रतिशत र प्रदेशसभामा एक दशमलव पाँच प्रतिशत मत अनिवार्य ल्याउनुपर्ने छ । उल्लिखित मत नल्याएमा उक्त दलले समानुपातिकतर्फको सिट प्राप्त गर्न सक्दैन । ‘संसद्मा प्रतिनिधित्व गर्ने महिला जनप्रतिनिधिको संख्या ३३ प्रतिशत अनिवार्य पुर्याउनै पर्ने संवैधानिक व्यवस्था छ,’ मुख्य निर्वाचन अधिकृत दुवाडीले भने, ‘तसर्थ पहिलो हुने निर्वाचित हुने प्रणालीबाट दलहरूको ३३ प्रतिशत महिला विजयी हुनुभएको छैन भने त्योसमेत समानुपातिक प्रणालीतर्फबाट पूर्ति गर्नुपर्ने हुन्छ ।’
उनका अनुसार दलहरूले प्राप्त गर्ने मतको आधारमा समानुपातिकतर्फका उम्मेदवारहरूको समूहअनुसार सबैभन्दा अघिल्लो पंक्तिमा रहेका उम्मेदवार क्रमश: निर्वाचित भएको मानिनेछ । उदाहरणार्थ खस आर्य समूहबाट एक जना मात्र निर्वाचित हुने अवस्था आएमा पहिलो बन्दसूचीको पहिलो नम्बरमा रहेका उम्मेदवार स्वत: निर्वाचित मानिनेछ । त्यसपछि आदिवासी जनजातिको सूचीमा प्रवेश हुनेछ । त्यसमा पनि पहिलो नम्बरमा रहेका उम्मेदवार निर्वाचित भएको मानिनेछ ।
आयोगका समानुपातिक प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रदेशसभामा भने सम्बन्धित प्रदेशमा प्रत्यक्षतर्फ निर्वाचित हुने प्रदेशसभा सदस्यलाई ६० प्रतिशत मानेर ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट पूर्ति गर्ने संवैधानिक व्यवस्था छ । आर्थिक अभियानबाट

