नागढुंगा सुरुङमार्गको प्रगति ६५ प्रतिशत पुग्यो



काठमाडौं,असोज २६ । साढे ३ वर्षमा सम्पन्न गर्ने गरी शिलान्यास भएको नागढुंगा सुरुङमार्ग आयोजना सम्झौता अवधिमै सम्पन्न नहुने देखिएको छ । आयोजनाको सम्झौता अवधि सकिन ६ महीना बाँकी हुँदा यसको समग्र प्रगति ६५ दशमलव ३० प्रतिशत पुगेको छ ।

२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यासपछि आयोजनाका लागि आवश्यक निर्माण उपकरण, विस्फोटक सामग्रीको उपलब्धताका साथै मुआब्जालगायत समस्याले सुरुङमार्ग निर्माण शुरू गर्नै ढिलो भएको थियो । त्यहीबीचमा देखिएको कोरोना महामारीका कारण थप ढिलो हुँदा तोकिएको अवधिमा आयोजना सम्पन्न हुन नसकेको सडक विभागको भनाइ छ ।

निर्धारित समयमै सम्पन्न नहुने भएसँगै सडक विभागले आयोजनाको म्याद ८६ दिन थप गरिसकेको छ । ४२ महीनामा सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा/आन्दो कर्पोरेशनले सुरुङमार्ग बनाउने जिम्मा लिएको थियो । यसअनुसार आउँदो वैशाखसम्ममा सुरुङमार्ग बनिसक्नुपर्नेमा अझै थप समय लाग्ने भएको छ ।

आयोजनाका निर्देशक रामहरि पोखरेलले आयोजनाको म्याद ८६ दिन थपिएको जानकारी दिए । यद्यपि निर्माण कम्पनी हाज्मा/आन्दोले अझै ६/७ महीना म्याद बढाउन विभागसँग माग गरेको छ । तर, निर्माण कम्पनीले मागेअनुसार नै म्याद भने नथपिने पोखरेलले जानकारी दिए ।

‘उहाँहरूले उक्त अवधिका लागि म्याद थप्न भन्नुभएको छ,’ उनले भने, ‘हामीले घटाएर थप्ने भनेका छौं, सम्भवत: ३/४ महीना म्याद थपिन्छ ।’

यस अवधिमा आयोजनामा मुख्य सुरुङमार्ग, सहायक सडक, पुल, अन्डरपास, ओभरपास बनेका छन् । कुल २ दशमलव ६८ किलोमीटरको मुख्य सुरुङमार्गमध्ये मंगलवारसम्म १ दशमलव ५९ किलोमीटर सम्पन्न भएको छ । आयोजनाले मंगलवार सार्वजनिक गरेको प्रगति सूचनाअनुसार आयोजनामा तीनओटा पुल, चारओटा बक्स सम्पन्न भइसकेका छन् ।

तीनओटा अन्डरपासमध्ये दुईओटा सम्पन्न भएका छन् । फ्लाइओभर भने निर्माणाधीन रहेको आयोजनाले उल्लेख गरेको छ । सुरुङमार्गसहित आयोजनाको कुल लम्बाइ ५ दशमलव ७ किलोमीटर छ । आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्