तिहार लक्षित तथा नियमित दुवै अनुगमन तीब्र पार्दै काठमाडौँ महानगर 



काठमाडौँ,असोज २६ । अनुचित व्यापारिक क्रियाकलाप रोकेर स्वच्छ तथा गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित गर्ने भन्दै काठमाडौं महानगरले तिहार र छठ सम्मै अनुगमनलाई निरन्तरता दिने भएको छ । जसका लागि महानगरकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा अनुगमन टोली यस अघिनै सक्रिय रहेको छ ।

पर्वलक्षित अनुगमनका क्रममा दैनिक उपभोग्य बस्तु विक्री वितरण हुने ठाउँ, माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, तरकारी तथा फलफुल बजार हेरिनेछन् । 

योजना, अनुगमन तथा मुल्याङ्कन एकाईले विभिन्न ७ वटा निर्धारण गरेर नियमित अनुगमनको योजना बनाएको छ । एकाईका प्रमुख नरेन्द्रविलास बज्राचार्यले हरेक क्षेत्रमा सम्बन्धित विषय विज्ञ र सरोकारवालालाई सहभागी गराएर अनुगमन गर्ने योजना बनाएको जानकारी दिए । यसरी निर्धारण गरिएको क्षेत्रमा पशुबाट उत्पादन हुने खाद्यबस्तुहरुमा माछामासु तथा दूग्ध पदार्थ, डेरी तथा मिठाई, दैनिक खाद्यबस्तुहरुमा तरकारी, दाल, चामल तथा फलफुल, औषधिजन्य, पूर्वाधार, निर्माणजन्य सामग्री, लत्ताकपडालगायतका क्षेत्र छन् ।    

स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्वन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने वजार तथा हाट वजार व्यवस्थापन गर्ने विषय स्थानीय सरकारका क्षेत्र हुन् । स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मुल्य निर्धारण र अनुगमन गर्ने, स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहमा छ । 

स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि महानगरले ऐन र कार्यविधि नै जारी गरेको छ । ऐनमा  दैनिक उपभोग्य बस्तु तथा सेवासँग सम्बन्धित विषयसँग सम्बन्ध राख्छ । कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यकाअनुसार उपप्रमुखको संयोजकत्वमा रहेको समितिले अनुगमन कार्यको पनि अनुगमन गर्न सक्छ । त्यस्तै क्षेत्रगत अधिकारीहरुको संयोजकत्वमा अनुगमन टोली गठन हुन्छ । यस टोलीले नियमित अनुगमन गर्न सक्छ । 

अनुगमनको नतिजाबाट पहुँच योग्य र स्वच्छ बजार प्राप्त हुनुपर्छ : उपप्रमुख डंगोल 

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सन्तुलित बजार व्यवस्थापन अनुगमनको नतिजा हुने बताएकी छन् । ‘स्वच्छ बजारका लागि योगदान गर्नेहरु व्यापारमा प्रोत्साहित हुनुपर्छ । अनुचित काम गर्नेहरुमाथि निगरानी हुनुपर्छ ’उनले भनिन्।

अनुगमनको प्रभावकारिताका लागि काठमाडौ महानगरपालिका वजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को व्यवस्थाअनुसार महानगरको निरीक्षण अधिकृत तोकिनेछ । वाणिज्य विभागबाट निरीक्षण अधिकृतको अधिकार प्रत्योजनका लागि अधिकारीको नाम शिफारिस गरेर पठाउने प्रक्रिया आजैबाट थालनी गर्न डंगोलले निर्देशन समेत दिएकी छन्  । यससँगै ऐनबमोजिम अनुगमनमा हेरिने विषयसँग सम्बन्धित विज्ञलाई सहभागी गराउने प्रक्रियाबाट अनुगमनलाई नतिजामुखी बनाउनुपर्नेमा जोड दिइन् ।

दशैँ लक्षित अनुगमनका सवल पक्षलाई सिकाईका रुपमा ग्रहण गर्नुपर्ने बताउँदै  त्यसका कमजोरीलाई सुधार गर्नुपर्ने बतइन्। ‘अनुगमनमा जानुअघि पसलहरुमा हेरिने व्यवसाय दर्ता तथा नविकरण, व्यवसाय दर्ता नगर्दा हुने जरिवाना सम्बन्धी सूचना हरेक व्यवसायीले थाहा पाउने गरी प्रकाशन गर्नुपर्छ,’ उनले भनिन् ।

उपप्रमुख डंगोलले प्रक्रियाका विषयसँगै एकीकृत बजार अनुगमनमा जोड दिइन्  । अनुगमनका नाममा एकै ठाउँमा धेरै समूह पुग्दा व्यापारिक क्षेत्रमा नकारात्मक सन्देश जाने भएकाले सरोकारवाला सबै एउटै टोलीमा सामेल भएर जानुपर्ने उनको भनाइ थियो ।
 
‘बजारका सानासाना पसलमा पनि ठूला ठूला समस्या हुन सक्छन् । खानासँग सम्बन्धित विषय संवेदनशील हुन्छ । यस्ता विषयलाई गम्भीरताका साथ हेर्नुपर्छ ।’ बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने ‘धेरै व्यक्तिलाई एकै पटक नकारात्मक प्रभाव पार्न सक्ने क्षेत्रलाई अनुगमनको प्राथमिकतामा राख्नुपर्छ । अनुगमनको प्रक्रिया, यस क्रममा हुने कारवाहीको विषयमा कहीँकतैबाट पनि प्रश्न उठ्नु हुँदैन ।’ काठमाडौँका बजारमा बेचिने सामग्रीको मूल्यको चक्र उत्पादन क्षेत्रबाट सुरु हुन्छ । त्यसैले यो सबै चक्र हेर्ने गरी अनुगमन गर्नुपर्छ । बैठकमा वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्