निर्वाचनमा प्रत्यक्षतर्फ ५७ दलबाट उम्मेदवारी



काठमाडौं,असोज २७ । आगामी मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।   

प्रतिनिधिसभातर्फ ५७ दलले उम्मेदवारी दिएको आयोगले बताएको छ । प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको संख्या फरक छ । प्रदेश एकमा ३०, मधेशमा ३७, बागमतीमा ३२, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा १६ र सुदूरपश्चिममा २० दलले प्रदेशसभा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । आयोगमा दर्ता भएका दलको संख्या भने एक सय १६ रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । दर्ता भएका सबै दलले आगामी निर्वाचनमा भाग नलिने पनि उनले बताए । २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ५५ दलले भाग लिएका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा हुनेले मतदान गर्न पाउनेछन् । त्यसका लागि मतदातासँग परिचयपत्र हुन आवश्यक छ । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा हुने समेत एक करोड ७९ लाख ८८ हजार ५७० जनाले मतदान गर्न पाउने आयोगले बताएको छ, जसमा ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र १८५ अन्य मतदाता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्