टर्कीको एक कोइला खानीमा विष्फोट, २५ जनाको मृत्यु



एजेन्सी,असोज २९ । टर्कीको एक कोइला खानीमा विष्फोट भएको छ। विष्फोटमा करिब २५ जनाको मृत्यु भएको बताइएको छ।

शुक्रबार राति भएको विष्फोटमा करिब २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएको छ। खानीमा ५० जना भन्दा बढी कामदार फसेका बताइएको छ। फसेका कामदारलाई बाहिर निकाल्ने क्रम जारी राखिएको टर्कीको गृह मन्त्रालयले जनाएको छ।

बार्टिनको अमासरा शहरमा रहेको उक्त खानीमा ज्वलनशील ग्याँसका कारण विष्फोट भएको जनाइएको छ। विष्फोटका बेला खानीमा एक सय १० जना कामदार रहेका थिए।

केही कामदार बाहिर आएपनि ५० जना भन्दा बढी खानीभित्र फसेकाले उनीहरुको उद्धार गर्ने काम भइरहेको छ। सन् २०१४ मा पनि टर्कीकै मानिसा प्रान्तमा भएको कोइला खानी विष्फोटमा ३ सय १ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्