त्रिवि क्रिकेट मैदानमा पानी निकासको समस्या, वर्षाले एनपीएलका खेल प्रभावित हुने
काठमाडौं,कात्तिक १४ । लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान जलमग्न बनेपछि नेपाल प्रिमियर लिग (एनपीएल)का खेल प्रभावित हुने भएका छन्। पिचलाई पालले छोपेर सुरक्षित राखिए पनि प्यारापिट र मैदान वरपरबाट बगेको पानीको उचित निकास नहुँदा मैदानमा पानी जमेको हो।
शुक्रबारदेखि भइरहेको वर्षाका कारण मैदानसँगै वरपरको क्षेत्रसमेत जलमग्न बनेको छ। नयाँ प्यारापिटबाट बगेको पानीसमेत मैदानतर्फ पस्दा शनिबार र आइतबारका खेल सञ्चालनमा कठिनाइ हुने देखिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
गत वर्ष प्यारापिट र फ्लडलाइटसहित स्तरोन्नति गरिएको त्रिवि क्रिकेट मैदान अहिले १० हजार दर्शक क्षमताको बनेको छ। तर भौतिक संरचना विस्तार गरिए पनि पानी निकासको प्रणाली पुरानै रहेकाले समस्या देखिएको हो। त्रिवि परिसरको होचो भूभागमा मैदान रहेकाले आसपासका क्षेत्रबाट बगेको पानीसमेत रंगशाला क्षेत्रमा जम्मा हुने गरेको छ।
रंगशाला निर्माणमा संलग्न सहरी विकास विभागका पूर्वसहसचिव चक्रवर्ती कण्ठका अनुसार रंगशालाको सम्पूर्ण गुरुयोजना कार्यान्वयन नभएसम्म पानी व्यवस्थापनको दीर्घकालीन समाधान कठिन छ। मैदान वरिपरि ठूलो क्षमताको नाली निर्माण गरेर मात्र पानीको उचित निकास गर्न सकिने उनले बताएका छन्।
उनका अनुसार दोस्रो चरणमा प्यारापिटको क्षमता थप १५ हजार दर्शकसम्म विस्तार गर्ने र आधुनिक क्रिकेट रंगशालाका लागि आवश्यक अन्य पूर्वाधार निर्माण गर्ने योजना छ। करिब १० अर्ब रुपैयाँको गुरुयोजनाअन्तर्गत रंगशालाका सम्पूर्ण संरचना निर्माण हुन बाँकी छन्।
२०५६ सालसम्म त्रिविको आन्तरिक खेलकुद मैदानका रूपमा रहेको यस स्थानलाई भारतको जी–स्पोर्ट्सलगायतको सहयोगमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रूपमा विकास गर्न थालिएको थियो। नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण बढेसँगै तत्कालीन सरकारले प्यारापिट निर्माण र फ्लडलाइट जडान गरेको थियो। तर पानी निकासलगायतका आधारभूत पूर्वाधार भने पूर्ण रूपमा स्तरोन्नति हुन सकेका छैनन्।
क्यानका उपाध्यक्ष रोशन सिंहले मैदान र बाहिरी क्षेत्रसमेत पानीमा डुबेको बताएका छन्। पिच र मैदानका संवेदनशील भागलाई कभरले सुरक्षित राखिए पनि वरिपरिबाट आएको पानी मैदानमा जम्मा भएको उनको भनाइ छ।
क्यानका बोर्ड सदस्य तथा एनपीएल प्रतियोगिता निर्देशक धिरेन्द्र साउदका अनुसार अत्यधिक वर्षाका कारण मैदान वरिपरिका नालीसमेत भरिएका छन्। पानी पर्न रोकिएमा एक घण्टाभित्र खेलका लागि मैदान तयार गर्न सकिने उनले बताएका छन्। पहिलो खेल सञ्चालन हुन नसके पनि दोस्रो खेल खेलाउन सकिने अपेक्षा क्यानको छ।
क्यानको तालिकाअनुसार शनिबार दिउँसो साढे १२ बजे चितवन राइनोज र लुम्बिनी लायन्स तथा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुने तय छ।
क्रिकेट मैदानमा वर्षाको असर कम गर्न पिच कभर मात्र पर्याप्त हुँदैन। मैदानमा जमेको पानी हटाउने उपकरण र ठूलो क्षमताको वैज्ञानिक निकास प्रणाली पनि आवश्यक हुन्छ। त्रिवि मैदानमा पिच सुरक्षित रहे पनि पानी निकासको कमजोर व्यवस्थाका कारण खेल प्रभावित हुने अवस्था आउनुले रंगशालाको स्तरोन्नति अझै अपूरो रहेको देखाएको छ।

