बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध
काठमाडौं,कात्तिक १४ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित देशभरका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्। विभिन्न स्थानमा पहिरो खस्ने, खोलाको लेदो र ढुङ्गामाटो सडकमा थुप्रिने तथा पानीको बहाव बढ्ने कारण यातायात आवागमन प्रभावित भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, काभ्रेको रोशी गाउँपालिका–९ पिनथली र वडा नम्बर ८ को गिम्दीबेँसीस्थित बिपी राजमार्गमा आज बिहान ४ः५५ बजेदेखि खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा पनि सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात ठप्प भएको छ। मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा समेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी, ललितपुरको बागमती खोला करिडोर तथा कान्तिलोकपथका विभिन्न खण्डमा पनि आवागमन प्रभावित भएको छ। ललितपुर महानगरपालिका–२ बल्खुस्थित सुन्दरीघाट क्षेत्रमा अविरल वर्षाका कारण पानीको बहाव बढेपछि करिडोरको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदोसहितको पहिरो खसेको छ। पाल्पाको रामपुर नगरपालिका–१ कासिबनस्थित कालीगण्डकी करिडोरको पक्की सडकमा पनि ढुङ्गासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म–गमगढी सडकखण्ड पनि अवरुद्ध भएको छ।
लगातारको वर्षाका कारण विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो र बाढीको जोखिम बढेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गरेको छ।

