राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी मतदाता नामावली अद्यावधिक गरिने
काठमाडौं,कात्तिक १४ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग रहेका विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरण गर्ने भएको छ।
निर्वाचन आयोग र विभागबीच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण प्रयोग गर्ने समझदारी भएपछि उक्त प्रक्रिया अघि बढाउन लागिएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समझदारीअनुसार विभागले आफ्नो प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण सुरक्षित प्राविधिक माध्यमबाट आयोगलाई उपलब्ध गराउनेछ।
मतदाता नामावली अद्यावधिक प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुई निकायबीच गत कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
समझदारीअनुसार विवरणको सुरक्षित आदानप्रदान तथा उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास गरिनेछ। साथै तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम गर्ने व्यवस्था मिलाइनेछ।
समझदारी कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने प्राविधिक समस्या समाधान गर्न दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूहसमेत गठन गरिनेछ।
यस सहकार्यबाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरणको उपयोग गरी मतदाता नामावली अद्यावधिक र प्रमाणीकरण कार्य थप व्यवस्थित, विश्वसनीय तथा प्रभावकारी हुने निर्वाचन आयोगले अपेक्षा गरेको छ।

