सिरानडाँडा एक पर्यटकीय गन्तव्य



काठमाडौं,असोज २९ । गोरखाको सिरानडाँडा समुन्द्री सतहबाट करिब १,९९० मिटरको उचाईमा रहेको छ । गर्मी मौसममा पनि ज्याकेट लगाउनुपर्ने र सुत्दा सिरक ओढ्नुपर्ने र जाडोमा हिँउ खेल्ने ठाँउ हो, सिरानडाँडा ।

जाडो होस् वा गर्मी, वर्षैभरी लोभलाग्दो प्रकिृतिले भरिएको सुन्दर ठाउँ अजिरकोट गाउँपालिका–४मा पर्दछ । सिरानडाँडामा हरियाली डाँडापाखा, गाँउले परिवेश, तामाङ संस्कृति, चिया बगान, सहयोगी र आत्मीय गाउँले साथै अर्गानिक खाना यहाँका विशेषता हुन् ।

घाम लागेर बादल, तुयालो फाटेको बेला गाउँबाट बुद्ध, हिमालचुली र मनास्लु हिमाल अनि सूर्योदय र सूर्यास्तको मिठो मनोमोहक दृश्य । मनसुनी याममा यहाँ छिनमै कुहिरो लाग्छ त छिनमै घामको पारिलो उज्यालो आउँछ । मौसम नै विचित्रको छ यहाँको ।

गोरखा नैजिकैका बजारबाट बिदामा घुम्न, हयाङ्आउट गर्ने रोमाण्टिक गन्तव्यका रुपमा चिनिएको छ । नजिककैका सहरहरू गोरखा बजार, पालुङटार, दमौली, डुम्रे, मुग्लिन, नारायणगढ र दमौलीका बासिन्दाहरु धेरै आउने स्थानीयहरु बताउछन्।


सिरानडाँडामा मिठो खाना र खाजाको व्यवस्था गरिएको छ । बासका लागि एउटा होटल र रिसोर्ट पनि सञ्चालनमा ल्याइएको छ । डाँडामा चौबिसे शासनकालको एउटा कोटगढी छ । यहाँका केही हतियार सिमजुङकोटमा लगेर राखिएको स्थानीयले बताउँछन ।

यँहा तामाङ, शेर्पा समुदायको बसोबास रहेको छ । यहाँका स्थानीय वासिन्दाको मुख्य आम्दानी कृषि र वैदेशिक रोजगार हो । गाउँमा मकै, कोदो, जौ, गहुँ, तोरी, आलु, काउली, साग, बाख्रा, कुखुरा र भैंसीपालन पनि गरिन्छ ।

सिरानडाँडा हुँदै निम्चेपोखरी, नागेपोखरी, दूधपोखरी र नारदपोखरी पदयात्रा गर्न पनि सकिन्छ । गाउँबाट दुई घण्टामा निम्चे पोखरी, ४ घण्टामा नागेपोखरी, दुई दिनमा दुधपोखरी र नारदपोखरी पुग्न सकिन्छ । नारदपोखरी पदमार्ग रूविनालासँग जोडिन्छ ।
डाँडासम्मै सडक पिच भएकाले यात्रा गर्न सजिलो छ । राम्रो प्रचारप्रसार हुन सकेमा सिरानडाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने स्थानीय बताउछन् । सिरानडाँडाको अर्गानिक चिया, लोकल कुखुरा, लोकल रक्सी र मौसमी तरकारी स्वादको छुट्टै मिठास रहेको छ ।

काठमाडौबाट जाने हो भने , काठमाडौंको नयाँ बसपार्कबाट बिहान ६ः३० बजे, गोरखा बजारबाट बिहान १० बजे र दिउँसो २ बजे भच्चेकका लागि बस छुट्छन । भच्चेकबाट सिरानडाँडासम्म करिब ४.५ किलोमिटर यात्राका लागि ट्याक्सी पाइन्छ । पोखराबाट आउने हो भने, पोखराको पृथ्विी वसर्पाकबाट बिहान छ बजे बस हिड्छ ।

त्यसैगरि भच्चेकबाट काठमाडौंका लागि बिहान ८ बजे, चितवनका लागि बिहान साँढे ८ बजे र गोरखा बजारका लागि बिहान ६ र ८ बजे गाडी छुट्छन्।

प्रतिक्रिया दिनुहोस्