राउण्ड धवलागिरिको प्रचार गर्न १२ दिने पदयात्रा



म्याग्दी,असोज ३० । म्याग्दीको प्रसिद्ध पदमार्ग राउण्ड धवलागिरिको प्रचारका लागि म्याग्दीमा १२ दिने पदयात्रा शुरू भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिकाको मुदीस्थित राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हङकङबाट आएका म्याग्देलीले प्रचारप्रसार गर्ने गरी पदयात्रा शुरू गरेका हुन्  ।

विभिन्न पेशा तथा रोजगारीका क्रममा हङकङमा बसोवास गर्ने म्याग्देलीहरूको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको आयोजनामा पर्यटन प्रवर्द्धन गर्न १२ दिनको चक्रीय धवलागिरि पदयात्राको आयोजना गरिएको हो । बेनीबाट शुरू भएको पदयात्रा धवलागिरि गाउँपालिका ४ मुदीदेखि धवलागिरि बेसक्याम्प हुँदै मुस्ताङको मार्फा निस्किने कार्यक्रम रहेको मानो हङकङका अध्यक्ष कर्ण पुन मगरले बताए ।

पदयात्रामा मोनाका टोली, पत्रकार र गाइड गरी ३२ जना सहभागी छन् । धवलागिरि चक्रीय पदमार्गलाई विश्वभर चिनाउने उद्देश्यले बेनी बजारबाट शुरू भएको पदयात्रा मुदी, बगरा, इटालियन बेसक्याम्प र धवलागिरि बेस क्याम्प हुँदै मुस्ताङको मार्फासम्म हुनेछ ।

जिल्ला सदरमुकाम बेनी हुँदै तातोपानी, बाबियाचौर, दरबाङ, ताकम, मुदी र दरवाङ, बिम, खिवाङ र बगरा हुँदै धवलागिरि बेसक्याम्प जाने गरेका छन् । म्याग्दी हुँदै गएका अधिकांश पर्यटक धवलागिरि पदयात्रा पूरा गरी मुस्ताङको मार्फा, टुकुचे, बागलुङको ढोरपाटन तथा डोल्पासम्म पुग्ने गर्छन् ।

राउण्ड धवलागिरिमा जैविक, सांस्कृतिक विविधता, हिमशृंखला, जनजातिको संस्कार, ग्रामीण जनजीवन आदिको अवलोकनका साथै धवलागिरि हिमाल आरोहण पर्यटकका मुख्य आकर्षण हुन् ।

धवलागिरि आधार क्षेत्रमा आएका पर्यटकको यात्रा १७ देखि २२ दिनसम्मको हुने गरेको छ । पदयात्रामा आउनेमा धरैजसो जर्मनी, फ्रान्स र क्यानडाका छन् । विश्वभरका पर्यटकको रोजाइमा परे पनि पदयात्राका क्रममा आवतजावतमा देखिएको समस्याका कारण अपेक्षाअनुसार पर्यटक आगमन हुन नसकेको धवलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए ।

राउण्ड धवलागिरिमा मंसिरदेखि फागुनसम्म सुनसान भए पनि अन्य समयमा भने पर्यटकको चहलपहल हुने गरेको छ । पदयात्रामा निस्केका टोलीलाई बेनी नगरपालिकाका मेयर सुरत केसी, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलगायतले बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्