घोडेपानी–पुनहिलमा करोडौं लगानीमा पूर्वाधार निर्माण



म्याग्दी,कात्तिक १३ । पदयात्रा, प्राकृतिक दृश्यावलोकन र आतिथ्य सेवाका कारण विश्व परिचित म्याग्दीका पर्यटकीय स्थल घोडेपानी–पुनहिलमा पर्यटकको सुविधाका लागि करोडौं रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी र पुनहिललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७५ सालमा १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेपछि यहाँ पूर्वाधार निर्माणले गति लिन थालेको हो । घोडेपानीका व्यवसायीले पक्की घर तथा होटललाई सुविधायुक्त बनाउँदै लगेका छन् । सात वर्षअघिसम्म घोडेपानीका होटलको क्षमता दैनिक ५०० हाराहारीमा थियो । होटलको क्षमता बढाएर एक हजारभन्दा बढी पुर्‍याएको होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष मीना पुन बताउँछिन् । ‘पाहुनाले वास नपाएर डाइनिङ हल र भान्छाकोठामा सुत्नुपर्ने समस्या छैन,’ उनले भनिन् ‘तातोपानी, बाथरूमयुक्त कोठा र वाइफाइको सुविधा छ ।’

समुद्री सतहदेखि २ हजार ८०० मिटरको उचाइमा अवस्थित घोडेपानीमा २५ सुविधा सम्पन्न होटल छन् । यसअघि ढुंगा, माटो र काठले बनेका घरमा होटल सञ्चालन गरिएको थियो । अधिकांश व्यवसायीले पक्की घर बनाएका छन् । होटलको सुविधा र क्षमता बढाउन न्यूनतम रू. २ करोडदेखि ७ करोडसम्म लगानी गरेको व्यवसायीले बताएका छन् ।

२०७६ असारमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रू. ५० लाख बजेटबाट मार्ग खोलिएको चित्रे हुँदै घोडेपानी जोड्ने चार किलोमिटर सडक थप २५ लाख खर्चेर ग्राभेल गरिएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न रू. २७ करोडको आयोजना सञ्चालन गरिएको छ । घोडेपानीका व्यवसायी रनबहादुर पुनले सडक सुविधासँगै सवारीसाधन चढेर आउने आन्तरिक पर्यटक बढेको बताए । ‘निर्माण र खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी सहज भएको छ, खर्च सस्तिएको छ,’ उनले भने, ‘पोखरेबगर–चित्रे सडक कालोपत्र र कास्कीसँग सडक जोडिएपछि झनै सजिलो हुन्छ ।’ घोडेपानीदेखि कास्कीको उल्लेरी जोड्ने सडक निर्माण गर्न अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा रू. १० लाख विनियोजन गरेको थियो । गाउँपालिकाका निवर्तमान अध्यक्ष डमबहादुर पुनले पालिका र प्रदेश सरकारका कार्यालयमार्फत घोडेपानी क्षेत्रमा गत आर्थिक वर्षमा २ करोड ५० लाख बजेटका योजना सम्पन्न भएको जानकारी दिए ।

घोडेपानी र त्यहाँदेखि दृश्य अवलोकन स्थल पुनहिल जाने बाटोमा प्रदेश सरकारको २५ लाख सहयोगमा २३ ओटा सोलार बत्ती जडान गरेर रातको समयमा उज्यालो बनाइएको छ । सोलार बत्ती जडान गरेपछि घोडेपानीमा वास बसेर उज्यालो नहुँदै पुनहिलमा जाने पर्यटकलाई सहज भएको टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजाले बताए ।

पानी र हिउँ परेको अवस्थामा सुरक्षित बसेर दृश्यावलोकन गर्ने सुविधाका लागि पुनहिल परिसरमा २७ लाख ५० हजार खर्चेर तीनकोठे आश्रयस्थलको पक्की भवन निर्माण भएको छ । यो योजनाका लागि पर्यटन विभागले गाउँपालिकामार्फत बजेट पठाएको थियो । पुनहिल नजिकै पर्ने फूलबारीमा प्रदेश सरकारले रू. १० लाख खर्चेर गुराँस उद्यान बनाउन लागेको छ । २० रोपनी जमीनमा बनाउन लागिएको उद्यानको तारबार गर्नुका साथै शौचालय निर्माण गर्ने योजना छ ।

नेपालमा पाइने ३१ प्रजातिका गुराँस एकै ठाउँमा अवलोकन गर्न सकिनेछ । डिभिजन वन कार्यालय म्याग्दीले रू. २० लाखको लागतमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने साइकल र घोडा ट्रेल, चरा अवलोकन स्थल र घोडा बाँध्ने तबेला बनाउन लागेको कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए ।

योजनाको डिजाइन र लागत अनुमान तयार पारी उपभोक्ता समितिसँग सम्झौता गरिसकेको उनले बताए । ३ किलोमिटर पदमार्ग बनाउन लागिएको हो । यसैगरी प्यारीबाराही तालको वरपर ढुंगा बिछ्याएको ३८० मिटर लामो पैदलमार्ग बनाउन घराम्दी सामुदायिक वन उपभोक्ता समूहलाई रू. ३ लाख ८४ हजार उपलब्ध गराउने सम्झौता भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको रू. ८ लाख बजेटबाट घोडेपानी खानेपानी आयोजनाको क्षमता विस्तारको काम शुरू भएको छ । स्थानीयको थप रू. ८ लाख जुटाएर ३० हजार लिटर क्षमताको भण्डारण ट्यांकी निर्माण र मुहानबाट थप पानी ल्याउन लागिएको उपभोक्ता समितिका अध्यक्ष टेकसर बुद्धुजाले बताए । २२ वर्षअघि भारतीय दूतावास र रेडक्रस सोसाइटीको सहयोगमा निर्माण भएको घोडेपानी खानेपानी आयोजनाको ट्यांकी र पाइप सानो भएकाले क्षमताले माग धान्न नसक्दा समस्या भएको छ ।

समूहको कोषमा रहेको रू. १० लाख लगानी गरेर पक्की भवन निर्माणलाई पूर्णता दिने पदाधिकारीले बताएका छन् । घोडेपानीमा ढल व्यवस्थापनका लागि नाली बनाउन गाउँपालिकाले थप रू. ६ लाख विनियोजन गरेको छ । गाउँपालिकाले विनियोजन गरेको रू. २० लाख बजेटबाट पुनहिल हुँदै मोहरे, घोडेपानीदेखि चित्रे, खिवाङ र घान्दु्रकतर्फ जाने करीब दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । घोडेपानी–प्यारीबाराही पदमार्ग निर्माण समितिका अध्यक्ष सुशील पुनले घोडेपानी भित्रने पाहुनाको बसाइ लम्ब्याउन नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी त्यहाँ पूर्वाधार निर्माणका साथै प्रचारप्रसारमा आफूहरू जुटेको बताए । घोडेपानीलाई केन्द्रित गरेर फूलबारी, मोहरेडाँडा, प्यारीबाराही ताललगायत सहायक गन्तव्यको पहिचान गरिएको छ । पहाडको उच्च स्थानमा रहेको घोडेपानी र पुनहिल सूर्योदय, हिमशृंखला र गुराँसको जंगल अवलोकनका लागि महत्त्वपूर्ण गन्तव्य हुन् । पोखराबाट नजिक पर्ने भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्