काभ्रे – २ मा हुमागाई र बास्कोटाबीच रोचक प्रतिस्पर्धा : दुवैलाई स्वतन्त्रको चुनौती
काभ्रेपलाञ्चोक,कात्तिक २७ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नकिजिंदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ ।
यस निर्वाचन क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाई र नेकपा (एमाले)का गोकुलप्रसाद बास्कोटाबीच हुने अनुमान गरिएको छ । दुबै प्रतिस्पर्धी आ–आफ्नै शैलीमा प्रचार–प्रसारमा होमिएका छन् । दुवै पक्षले मतदाता आकर्षित गर्नका लागि मतदाताका घरदैलोमै पुगेर भेटघाट गर्न थालेका छन् ।
बास्कोटा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निकट मानिन्छन्। केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत भएका बास्कोटाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ ।
उनका प्रतिस्पर्धी काङ्ग्रेसका शिवप्रसाद हुमागाई २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने संविधानसभा निर्वाचन २०६४ र २०७० मा पराजित भएका थिए।
हुमागाई र बास्कोटालाई दुबै जिल्लामा ‘हेभिवेट’ उम्मेदवारका रूपमा लिइएको छ । हुमागाई र बास्कोटाले जिल्लामा पार्टीको नेतृत्व गरेको र केन्द्र र जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ ।
२०३६ मा भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा शुरु गरेका गठबन्धनका उम्मेदवार हुमागाई पार्टीका विभिन्न भातृ सङ्गठन हुँदै चारपटक पार्टीको जिल्ला नेतृत्व एवं एकपटक केन्द्रीय सदस्यको नेतृत्व गरेका थिए ।
विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गरेका बास्कोटा पार्टीका विभिन्न भातृ सङ्गठन तथा पार्टीको विभिन्न तह हुँदै पार्टीको जिल्ला नेतृत्व गर्दै हाल पार्टीको पोलिटब्यूरो सदस्य छन् ।
अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी भएका बास्कोटाको बिरासत तोड्न गठबन्धन दल चुनावी रणनीति बनाएर अघि बढेको छ । हुमागाईलाई बाँस्कोटाकै गृहनगर मण्डनदेउपरका गठबन्धन दलअन्तर्गत नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, पूर्वसांसद विदुरप्रसाद सापकोटासमेतको साथ छ ।

