गौतमबुद्ध विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सको तयारी
काठमाडौं,कात्तिक २७ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्ने भएको छ ।
डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तरराष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन। उनका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ ।
अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी डिसेम्बरभित्रै व्यावसायिक उडान सञ्चालनको योजनाअनुरुप सरोकारवालासँग परामर्श भइरहेको प्रवक्ता खड्काले बताइन् । उनका अनुसार डिसेम्बरको अन्तसम्ममा उडान गर्ने भनेर तयारी हुँदैछ ।
कुन – कुन गन्तव्यमा उडाउने भन्नेबारे समितिको प्रतिवेदनपश्चात् बोर्डले निर्णय लिनेछ । हाल गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एयरलाइन्सले सातामा तीन ओटा उडान गरिरहेको छ । नेपाल एयरलाइन्सले भारतका तीनसहित आठ देशका १० ओटा गन्तव्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ ।
एयरलाइन्ससँग अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् । गौतमबुद्ध विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको साढे पाँच महीनापछि कात्तिक १७ देखि हिमालय एयरलाइन्सले मलेशियाको क्वालालम्पुरका लागि नियमित चार्टर उडान गर्दै आएको छ । एयरलाइन्सले दैनिक एक चार्टर उडान गरिरहेको छ ।
नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने व्यवस्था गरेको थियो । जसका कारण हिमालय एयरलाइन्सले चार्टर्ड उडान सुरु गरेको थियो । नेपाल एयरलाइन्सले पनि थप उडानका लागि भैरहवा विमानस्थलबाट उडान गर्न लागेको हो ।
नेपाल एयरलाइन्सले भैरहवाबाट छिट्टै अन्तरराष्ट्रिय उडान गर्ने गरी छलफलमा रहेको प्राधिकरणको भनाइ छ । गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा स्वदेशी कम्पनीले कम्तीमा पनि एउटा अन्तरराष्ट्रिय उडान गर्दै अन्तरराष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न नियामक निकायले बाध्यकारी व्यवस्था गरेको थियो ।
प्राधिकरणले नेपालका दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित पाँच अन्तरराष्ट्रिय एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न लिखितरुपमा आग्रह गरिसकेको छ । प्राधिकरणले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुलाई आन्तरिक उडानमा २५ प्रतिशत छूट दिने निर्णयसमेत गरेको छ ।
यस्तै थाइल्याण्डलगायतका देशका वायुसेवा कम्पनीबाट समेत उडान गर्ने तयारी भइरहेको प्राधिकरणको भनाइ छ । उक्त विमानस्थल गत जेठ २ गतेदेखि सञ्चालनमा आएको हो । विमानस्थलले अहिले अन्तरराष्ट्रिय उडान गर्ने वायुसेवालाई नेपाल नागरिक उड्डययन प्राधिकरणले असुल गर्ने अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क, सुरक्षा शुल्कमा एक वर्षका लागि शतप्रतिशत छूट दिएको छ ।
यस्तै नेपाल वायुसेवा निगमले असुल गर्ने ग्राउण्ड ह्याण्डलिङ सेवामा एक वर्षका लागि ५० प्रतिशत छुट प्रदान गरिएको विमानस्थले बताएको छ । आर्थिक अभियानबाट

