१५ जिल्लामा उच्च सुरक्षा सतर्कता



काठमाडौं, मंसिर ३ । आइतबार हुने संघीय संसद् र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी १५ जिल्लामा उच्च सतर्कता अपनाइएको छ। शीर्ष नेताहरूले चुनाव लडिरहेका निर्वाचन क्षेत्रलाई सुरक्षा निकायले वर्गीकरण गरी उच्च सतर्कता अपनाएको हो।

झापा, मोरङ, पर्सा, दोलखा, सप्तरी, सिरहा, रौतहट, धनुषा, चितवन, गोरखा, कपिलवस्तु, नवलपरासी, दार्चुला, कैलाली र डडेलधुरालाई निर्वाचन प्रयोजनका लागि सुरक्षा जोखिममा रहेको भन्दै उच्च सतर्कतामा राखेको हो।

शीर्ष नेताहरूले निर्वाचन लडिरहेका क्षेत्र र भारतसँग सीमा जोडिएका केही जिल्लालाई उच्च जोखिममा राखिएको सुरक्षा निकायले जनाएको छ।

निर्वाचन प्रयोजनका लागि भएका सीमासुरक्षा बैठक र सुरक्षा अंगहरूको बैठकले ती जिल्लालाई विशेष निगरानीमा राख्नुपर्ने जनाएको छ। सुरक्षा अंगहरूले ती जिल्लामा नियमित सुरक्षाकर्मीबाहेक ‘रिजर्भ फोर्स’को पनि व्यवस्था गरेका छन्। निर्वाचनको क्रममा हुनसक्ने अराजनीतिक गतिविधि, झडप, हुलदंगालगायत क्रियाकलापलाई ध्यानमा राखी विशेष निगरानी राखिएको हो।

शीर्ष नेताहरू तथा पूर्वप्रधानमन्त्रीहरूले निर्वाचन लडिरहेका जिल्लालाई सुरक्षा संयन्त्रले संवेदनशील जिल्लाभित्र राखेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल र पुष्पकमल दाहालले निर्वाचन लडिरहेका जिल्लालाई सुरक्षा संयन्त्रले विशेष निगरानीमा राखेको छ।

त्यसगरी अन्य नेपाल–भारत सीमाक्षेत्र जोडिएका प्रदेश २ का केही जिल्लालाई पनि सुरक्षा संवेदनशीलताको हिसाबले जोखिममा राखिएको छ। साथै अर्बपति विनोद चौधरीले निर्वाचन लडिरहेको क्षेत्र नवलपरासी पश्चिमलाई पनि सुरक्षा संयन्त्रले निगरानीमा राखेको छ। साथै प्रधानमन्त्रीबाहेक गठबन्धन दलका नेताहरूले विशेष सम्बोधन गरेका सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र दार्चुलालाई पनि सुरक्षा संयन्त्रले विशेष निगरानीमा राखेको छ।

त्यस्तै निर्वाचनको क्रममा सधैं बुथ कब्जा गर्ने र झडप हुने जिल्लाको रूपमा चिनिएको दोलखाका लागि पनि गृह मन्त्रालयले विशेष सुरक्षा व्यवस्था गरेको छ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्