एक महिनामै ३७.१८ प्रतिशतले बढ्यो सुन आयात, करिब ८ अर्बको सुन नेपाल भित्रियो



काठमाडौं,मंसिर ७ । चालु आर्थिक वर्ष २०७९/८० को चार महिनामा करिब ८ अर्बको सुन आयात भएको छ ।

भन्सार विभागले हालै प्रकाशित गरेको चालु आवको कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । उक्त अवधिमा ७ अर्ब ९५ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको हो ।

नेपालमा विश्वका तीन मुलुक युनाईटेड अरब इमिरेट्स(यूएई), टर्की र स्वीट्जरल्याण्डबाट सुन आयात हुने गरेको छ । चालु आवको चार महिनामा सुन आयातबाट सरकारले ९४ करोड ९० लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

चालु आवको कात्तिक मसान्तसम्ममा १ हजार ११६ केजी बढी सुन आयात भएको हो । नेपालमा सुन आयात एक महिनामा ३७.१८ प्रतिशतले बढेको हो । चालु आवको असोज मसान्तसम्ममा भने ५ अर्ब ७९ करोड ६४ लाख ३१ हजार रुपैयाँ बराबरको ८११ केजी बढी सुन आयात भएको थियो ।

चालु आवको चार महिनामा सबैभन्दा बढी सुन यूएईबाट आयात भएको छ । उक्त देशबाट कात्तिक मसान्तसम्ममा ६ अर्ब १६ करोड १६ लाख २७ हजार रुपैयाँ बराबरको सुन आयात भएको हो । उक्त अवधिमा युएईबाट ८६६ केजी बढी सुन नेपाल भित्रिएको विभागले जनाएको छ । यसअघि अर्थात असोज मसान्तसम्ममा भने उक्त देशबाट ४ अर्ब ६१ लाख ८६ हजार रुपैयाँ बराबरको सुन आयात भएको थियो ।

विभागका अनुसार चालु आवको चार महिनामा टर्कीबाट १ अर्ब ८ करोड २ लाख ७९ हजार रुपैयाँ बराबरको १५० केजी सुन आयात भएको छ ।

यस्तै, स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । कात्तिक महिनामा भने स्वीट्जरल्याण्ड र टर्कीबाट सुन आयात नभएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्