जनगणनाको पूर्ण विवरण चाँडै सार्वजनिक गरिँदै



काठमाडौं, मंसिर ९ । सरकारले छ वर्षअघि नै गाउँ र नगर छुट्याए पनि राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक हुँदा भने विकासका पूर्वाधारसहितको गाउँ र नगर छुट्टिने भएको छ ।

राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगरको भौतिक पूर्वाधार, सेवा सुविधाको पहुँच, प्रतिव्यक्ति आयलगायतका तथ्याङ्कसहित गाउँ र नगर छुट्याउन लागिएको हो ।

राष्ट्रिय जनगणना, २०७८ को क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले सामुदायिक प्रश्नावली निर्माण गरी विकासका भौतिक पूर्वाधारसहितको तथ्याङ्क सार्वजनिक गर्न लागिएको जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगर छुट्टिने गरी विवरण सार्वजनिक गरिने बताए ।

सरकारले २०७३ सालमा स्थानीय तह पुनर्संरचना आयोग निर्माण गरी जनसङ्ख्या, विकासका भौतिक पूर्वाधार र सेवाग्राहीको सार्वजनिक निकायमा पहुँचका आधारमा ४६० गाउँपालिका तथा महानगर, उपमहानगर र २९३ नगरपालिका गरी ७५३ पालिका घोषणा गरेको थियो ।

लामिछानेका अनुसार जनगणनाको पूर्णविवरण सार्वजनिक हुँदा नागरिकको सहरप्रतिको पहुँच, सहरी पूर्वाधार, प्रशासनिक सेवासुविधाको अवस्था, सवारीसाधनको सहज उपलब्धता, विश्वविद्यालयको अवस्था, खानेपानी, बिजुलीलगायत विकासका आयामको यकिन तथ्याङ्क सार्वजनिक गरिनेछ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्