आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ, ‘टिकटक’मा देखेको पुल प्रत्यक्ष देख्दा पर्यटक दगं



बाग्लुङ,मंसिर २५ ।  मङ्सिर सुरु भएपछि यहाँ शैक्षिक तथा अध्यययन अवलोकन गर्न आउनेहरुको सङ्ख्या बढेको छ । पछिल्लो पाँच वर्षमा बागलुङ बजार आसपासमै थपिएका तीन प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका कारण विभिन्न जिल्लाबाट यहाँ घुम्न आउने विद्यालय, सहकारी, आमा समूह, भजन समूह र क्याम्पसका विद्यार्थी तथा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

शुक्रबार गुल्मीको मुसिकोट नगरपालिका-४ दजाकोटको श्री पशुपति निम्न माध्यामिक विद्यालयको शैक्षिक अवलोकन भ्रमणको समूह बागलुङदेखि पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो पुलमा आइपुग्यो । सोही दिन यस क्षेत्रमा विभिन्न स्थानबाट आमा समूह र सहकारीका समूहका पनि भ्रमण टोलीहरु आइपुगेका थिए ।

कोरोना महामारीका कारण केही समय थलिएको यहाँको पर्यटन गतिविधि पछिल्लो समय भने चलायमान हुन थालेको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको अदुवाबारी जोड्ने पाँच सय ६७ मिटर नेपालकै लामो ‘गण्डकी गोल्डेन व्रिज’मा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । 

पछिल्लो पाँच वर्षमा बागलुङ बजार क्षेत्रमा तीन ओटा पर्यटकीय गन्तव्य थप भएकाले पर्यटक बढेको कालिका मल्टिप्यालेसका सञ्चालक अर्जुन चोखालको भनाइ छ । ‘पहिले कालिका मन्दिर दर्शनका लागि मात्रै आन्तरिक पर्यटक आउँथे भने अहिले गण्डकी गोल्डेन ब्रिज, शालग्राम सङ्ग्रहालय र पञ्चकोट पर्यटकीय गन्तव्यका रुपमा थपिएपछि पर्यटकको चाप बढी भएको हो’, चोखालले भने ।

टिकटकमा देखेको पुल प्रत्यक्ष रुपमा देख्दा खुसी लागेको शैक्षिक भ्रमणमा आएका गुल्मीका अभिषेक शर्माले बताए । ‘सामाजिक सञ्जालमा देखेको नेपालकै लामो पुल कस्तो होला भन्ने थियो, यही पुल हेर्न हामी यहाँसम्म आएका हौँ,’ उनले भने , ‘लामो पुलसँगै बागलुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम सङ्ग्रहालयको भ्रमण गर्दा निकै खुसी लाग्यो ।’   

पर्यटक बढेपछि यहाँका होटलको व्यवसाय पनि बढेको छ । हाल गुल्मी, म्याग्दी, पोखरा, चितवन, बुटवल र काठमाडौं लगायतका स्थानबाट शैक्षिक भ्रमणमा आउने गरेका छन् । बागलुङ नगरपालिका–६ पञ्चकोटमा रु ४० करोड लगानीमा पर्यटकीय पूर्वाधार र मन्दिर निर्माण भइरहेको छ । साथै बागलुङ नगरपालिका-४ कुडुँले फेदीमा श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा सवालाख शालग्राम भूमिगत रुपमा सङ्ग्रहालय बनाइएको छ ।    

प्रतिक्रिया दिनुहोस्