झारफुकका नाममा तार्केश्वरमा घट्यो डरलाग्दो घटना



काठमाडौं, पुस ७ । काठमाडौं जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ ।

यस्तै अन्धविश्वासमा पर्दा एक महिला गम्भीर घाइते भएकी छन्। गएको वर्ष झारफुकमा विश्वास गर्दा दुई जना मृत्युको मुखमा पुगेका थिए ।

आफूलाई माता बताउने एक किशोरीले झारफुकका नाममा एक बिरामी महिलालाई तातो वस्तु (खुकुरी, पन्युँ, तेल तथा पानीं)ले डामेरपोलेपछि गम्भीर घाइते भएकी हुन् ।

काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुक गर्ने माता बताउने १९ वर्षीया सचिता मगरले बिरामीको शरीरमा तातो पन्युँ, तातो तेल र पानी खन्याउँदा भोजपुर आमचोक गाउँपालिका–६ की ३६ वर्षीया सविता राईको जीउभरि घाउ र फोकाका कारण सिकिस्तै भएकी छन् ।

प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक नवीन विष्टले नेपाल प्रहरी अस्पतालमा बिरामी राईको उपचार भइरहेको र अवस्था गम्भीर रहेको जानकारी दिए । प्रहरीले किशोरी मातासहित सहयोगी चार जनालाई पक्राउ गरी कुटपिट तथा अङ्गभङ्गसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।

उक्त घटनामा संलग्न मातासहित उनका सहयोगी उदयपुर घर भएका २६ वर्षीय पदमबहादुर मगर, २६ वर्षीय सङ्गम राई, १८ वर्षका सागर मगर र चितवन घर भएका १८ वर्षीय अजित तामाङ पक्राउ परेका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्