दुई वर्षपछि सँगै बसेका ओली-दाहाल दिल खोलेर हाँसे, कानेखुसी पनि गरे

काठमाडौं,पुस ८। प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढीरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै सोफामा बसेर भलाकुसारी गरेका छन् ।
केपी ओलीले संसद विघटन गरेपछि छुट्टिएका ओली र प्रचण्ड पहिलोपटक भेटिंदा दुवै नेता दिल खोलेर हाँसेका छन् । उनीहरूले बीचबीचमा कानेखुसी गर्दै केही गोप्य कुराकानी पनि गरेका छन् ।
प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि चियापान समारोहमा ओली र प्रचण्डबीच गोप्य कुराकानी भएको उनीहरूको हाउभाउले नै देखाउँछ । सुन्तला छोडाउँदै कुराकानी गरिरहेका ओली-प्रचण्ड रमाइरहेका देखिन्छन् ।
तर, संगै बसेका प्रधानमन्त्री शेर बहादुर देउवा भने उनीहरूको यो क्रियाकलापबाट विच्किरहेका देखिन्छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना भने उनीहरूका गोप्य कुरा सुन्न खोजीरहेका देखिन्छन् ।
नेकपाबाट अलग भएको २ वर्षपछि पहिलोपटक ओली र प्रचण्डले भेटेर एकआपसमा कुराकानी गरेका हुन् । त्यो भन्दा अघि उनीहरू संसद् भवनबाट बाहिरिँदै गर्दा प्रचण्ड र माधव नेपालले पनि उभिएर केही समय गफ गरेका थिए ।
प्रधानमन्त्रीमा दाबी पेश गर्न ४ दिन बाँकी रहँदा दलहरूले भेटघाट तीब्र पारेका छन् । ओली-प्रचण्डको भेट र हाउभाउले अहिलेकै सत्ता गठबन्धनको निरन्तरता र शेर बहादुर देउवाको छैटौ पटकको सत्तारोहण हुने कुरामा शंका उत्पन्न गरेको छ ।