खुकुरी रमले गर्‍यो पूर्वगोर्खा सैनिकलाई सम्मान



पोखरा,पुस ८ । खुकुरी रमको उत्पादक कम्पनी दी नेपाल डिस्टिलरिजले १२० जनाभन्दा बढी पूर्वगोर्खा सैनिकलाई सम्मान गर्दै छात्रवृत्ति पनि घोषणा गरेको छ ।

पोखरामा बिहीवार साँझ एक कार्यक्रम आयोजना गर्दै कम्पनीले सेवानिवृत्त गोर्खा सैनिकलाई सम्मान गरेको हो । भारतीय सेना, बेलायती सेना, सिंगापुर आर्मी लगायतमा काम गरेर सेवानिवृत्त भएकाहरूको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

सो अवसरमा कम्पनीले वीरता प्रदर्शन गरी भारतमा विभिन्न पदक पाएका भारतीय सेनाका अवकाशप्राप्त सैनिक विष्णुप्रसाद श्रेष्ठ र क्वीन एलिजावेथ लगायत प्रतिष्ठित पदकबाट सम्मानित एवं बेलायती सेनाको मेजर पदबाट सेवानिवृत्त दिलबहादुर गुरुङलाई विशेष सम्मान गरेको थियो ।

कम्पनीका मानव संसाधन प्रमुख जनकराज रेग्मीले श्रेष्ठ र गुरुङलाई विशेष प्रकारले सुसज्जित खुकुरी उपहार दिई सम्मान गरे । यस्तै, कार्यक्रममा सहभागी १२० जनाभन्दा बढी पूर्वगोरखा सैनिक र उनीहरूका पत्नीहरूलाई समेत कम्पनीले ‘मायाको चिनो’ दिएर सम्मान गरेको छ ।

कार्यक्रममा गोर्खा सैनिकहरूले नेपाल र नेपालीको नाम विश्वमा परिचित गराएको विषयमा वक्ताहरूले चर्चा गरेका थिए । कार्यक्रममा कम्पनीले आगामी वर्ष लडाइँको मैदानमा वीरगति प्राप्त गर्ने गोर्खा सैनिकका दुईजना बालबच्चालाई उच्च शिक्षासम्मका लागि पूर्ण छात्रवृत्तिको समेत घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्