चुरोटको खोलमा कविता लेख्थेँ : अध्यक्ष ओली

काठमाडौं,पुस८ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताएका छन् । पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीति बाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग सम्वाद गर्दै उनले भने, ‘गोलघरमा छँदा कागज भेट्टाउँदा पनि आफन्त भेटिएझैँ लाग्थ्यो ।’
अर्कैले फ्याँकेको चुरोटको खोल र खिइएर सकिन लागेको सिसाकलमको सहारामा कविता लेखेर जेलभित्रै सुनाउने गरेको ओलीले स्मरण गरे । अन्यायमा परेका जेलरकै विषयमा कविता लेखेपछि उनैले कापी र कलमको जोहो गरिदिएको उनले सुनाए ।
२०४१ सालतिर राजनीतिक बन्दीका रूपमा पोखरा जेलमा रहँदा अध्यक्ष ओलीले लेखेको कविता ‘खर्पन’ केही वर्षअघि चर्चामा आएको थियो । ‘जेलअघि खर्पनमा सागसब्जी बोकेर आइरेको मानिस देखेपछि म आफूलाई उनी सम्झेर त्यो कविता लेखेको हुँ’, उनले भने- ‘जहाँ कविता लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्दा कुनै रचना हराए, कुनै लुटिए ।’