रेणु दाहाल पनि एक्सनमा, नारायणगढ बजारका ५८ घरमा डोजर लगाउँदै

चितवन,पुस ९ । नारायणगढको बजार क्षेत्रका अतिक्रमित ५८ ओटा घर, भवन भत्काउन शुरु गरिएको छ ।
नारायणगढ–गोन्द्रङमा ६ लेन सडक बिस्तारका लागि घर भत्काउन थालिएको हो । सडक क्षेत्रभित्र परेका घरहरु शुक्रबारदेखि भत्काउन थालिएको हो। सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट शहिदचोकसम्मका घर भत्काउन सुरु गरेको छ।
यो सडक निर्माणका क्रममा ५८ ओटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए। ती घरका २० देखि १०० मिटरसम्मका संरचना सडकको क्षेत्रमा परेका छन । ३५ दिनको सूचना जारी गर्दा पनि नभत्काएपछि डोजर लगाएर भत्काउन सुरु गरिएको पौडेलले बताए।
‘३५ दिने सूचना जारी गर्यौं त्यसपछि १५ दिने सूचना पनि जारी गर्यौं,पटकपटक ताकेता गर्दा पनि नमानेपछि आजबाट भत्काउन शुरु गरेका हौं । केही घरधनीले आजबाट भने आफै भत्काउन शुरु गरेका छन ’ पौडेलले भने । बाँकी घरहरुपनि क्रमश भत्काउँदै जाने उनले बताए । घरधनीहरुले तोकिएको क्षेत्रभन्दा बढी क्षेत्रफल लिएर जबरजस्ती घर भत्काईएको भन्दै गुनासो गरेका छन ।