१६९ सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त, आज शपथ ग्रहण



काठमाडौं,पुस ११ । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त हुनु भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार साँझ दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

आइतवार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उहाँलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाएका छन् ।

प्रतिनिधसभामा  निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतवार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन ।

प्रचण्डले आज सोमबार दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्