२ वर्षमै दोब्बरले बढ्यो क्रिसमस मनाउने सामाग्रीको आयात, यो वर्ष मात्रै ५ करोड बाहिरियो



काठमाडौं,पुस ११ । आज इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस मनाइँदै छ । विश्वभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्षमा यो पर्व मनाउने गर्छन्। अंग्रेजी पात्रो अनुसार २५ डिसेम्बरदेखि १२ दिनसम्म यो पर्व मनाइने गरिन्छ । क्रिसमसकै लागि राजधानीलगायत देशका विभिन्न मल, होटल, रेष्टुरेन्ट, लज, क्लब लगायतका स्थान सजिसजाउ छन् । दशैं, तिहार, क्रिसमस जस्ता पर्वमा आयात हुने यस्ता सजिसजाउका सामाग्री नेपालमै उत्पादित भने होइनन् । 

विदेशी मुद्रा सञ्चितिमा परेको दबाबले अर्थतन्त्र असहज अवस्थामा हुँदा पनि क्रिसमसका सामान आयातमा नेपालबाट मोटो रकम बाहिरिएको छ । सरकारले विदेशी सामानलाई प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने भनेपनि आयातको ग्राफमा ब्रेक लाग्नु त परै जाओस्, झन् उकालो लागेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार यस्ता सामग्रीको आयात हरेक वर्ष बढिरहेको छ । क्रिसमसकै लागि नेपालमा करिब ५ करोड रूपैयाँका सामान आयात भएको विभागको तथ्यांक छ । यस्ता सामग्रीमा प्लाष्टिकजन्यको हिस्सा बढी छ, जसमा उपहार, सजावटका सामाग्रीदेखि  क्रिसमस ट्रिसम्म छन् ।  

विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ५ महिनामा ४ करोड ६८ लाख रूपैयाँ बराबरको सामग्री आयात भएको छ । यो आव ०७७/७८ को भन्दा झण्डै दोब्बर हो । गत आवको सोही अवधिमा ३ करोड ८१ लाख रूपैयाँको क्रिसमस प्रयोजनका सामग्री आयात भएको देखिन्छ । त्यस्तै, आव ०७७/७८ मा २ करोड ७४ लाख रुपैयाँका क्रिसमस सामग्री आयात भएका थिए । 

नेपालमा पछिल्लो समय जसरी उत्सवहरू मनाउने कल्चर परिवर्तन भइरहेको छ, सोही अनुसार त्यस्ता उत्सवमा प्रयोग हुने सामग्रीमा स्वदेशी उत्पादनलाई जोड्न भने सकिएको छैन । स्वदेशमै बनाइएका हस्तकलाका सामानमा भने नेपालीको रुचि देखिँदैन । बरु विदेशीले ती सामान रुचाउने गरेका छन् । तिनै सामान क्रिसमसका लागि यूरोप–अमेरिकासम्म निर्यात भइरहेका छन् । 

जुनसुकै धर्म तथा समुदायमा फूल अनिवार्य भएको र त्यस्तो फूल प्राकृतिक हुनुपर्ने पुष्प व्यवसायी महासंघका उपाध्यक्ष सीताराम पन्त बताउँछन् । उनका अनुसार प्रयोग गर्न सजिलो र सस्तो तथा टिकाउ हुने हुँदा प्लाष्टिकजन्य फूलको प्रयोग बढेको हो ।

किसानले क्रिसमस ट्री लगायत अन्य फूलहरू उत्पादन गरेका छन् । तर, मल, होटलजस्ता स्थान प्लाष्टिकका सामानले सजाइएको छ । यस्ता सामान पटक-पटक प्रयोग गर्न मिल्ने सार्न मिल्ने हुन्छ । तर, प्राकृतिक फूल त्यस्तो गर्न नमिल्ने भएकाले प्लाष्टिकजन्य सामानको प्रयोग बढेको हो । 

‘क्रिसमस ट्री पनि नेपालमा उत्पादन हुन्छ, खासै पर्व नै मनाउने हो भने यो अनिवार्य हो । तर, सजिलोको लागि प्लाष्टिक प्रयोग हुने गरेको छ । यो क्रिसमसमा मात्रै होइन, सबै पर्वमा यस्तै हुने गर्छ,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्