सिंहदरबारभित्र उच्च क्षमतायुक्त चार्जिङ स्टेशन बनाइँदै



काठमाडौं,पुस ११ । मुलुकको प्रमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण गरिँदै छ । देशकै प्रमुख निकाय भए पनि यहाँ विद्युतीय सवारी साधनका लागि उच्च क्षमताको चार्जिङ स्टेशन थिएन । हाल सिंहदरबारमा भएका चार्जिङ स्टेशन कम क्षमताका थिए ।

त्यसको अभाव परिपूर्तिका लागि सरकारले ३० किलोवाट क्षमताका पाँचओटा चार्जिङ स्टेशन निर्माण गर्दै छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको ‘इनर्जी डेभलपमेण्ट डिकेड एक्सन प्लान प्रोजेक्ट’ ले उक्त परियोजना निर्माण गर्न लागेको हो ।

आयोजना हेर्दै आएका सिनियर डिभिजनल इञ्जिनीयर शालिकराम भण्डारीका अनुसार ३० किलोवाट क्षमताका डिसी चार्जिङ स्टेशन निर्माण गर्न लागिएको हो । मन्त्रालय र आसपासका स्थानमा ती स्टेशन निर्माण हुनेछन् । पछिल्ला दिनमा विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भए पनि चार्जिङ स्टेशन निर्माणको क्रमले अपेक्षित गति लिन सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेशन पनि अधिकांश अन्तिम चरणमा पुगेका छन् । कुल ५१ वटा त्यस्ता स्टेशन प्राधिकरणले निर्माण गर्दै छ । त्यसमा १२ ओटा सञ्चालनमा आएको र ३२ ओटाको जडान सम्पन्न भएको छ । सिंहदरबारभित्रै द्रूत गतिको स्टेशन निर्माण भएपछि विद्युतीय सवारी साधनको प्रयोगमा थप अभिवृद्धि हुने सीडीई भण्डारीले जानकारी दिए ।

चार्जिङ स्टेशन निर्माणका लागि मन्त्रालयले आजै बोलपत्रमार्फत प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । स्टेशन निर्माणका लागि निजी वा सार्वजनिक संस्थाले आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्