विद्यार्थी अपहरण तथा हत्याको अभियोगमा प्रधानाध्यापक पक्राउ

पर्सा,पुस १३ । कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–२५ खलवाटोला सिर्सियामा सञ्चालित विद्यालयमा अध्ययनरत १४ वर्षीय नीरजकुमार दुसादको अपहरण तथा हत्याको अभियोगमा सोही विद्यालयका प्रधानाध्यापक पर्साको धोवनी गाउँपालिका–१ घोडदौर पिपरा निवासी ३० वर्षीय दिलीपकुमार पटेल र उनका सहयोगी वीरगञ्ज–१७ अलौँ निवासी २४ वर्षीय कृष्ण भरेन भनिने श्यामप्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका पटेल र यादवलाई आज प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा अभियुक्तद्वयलाई सर्वजनिक गर्दै प्रहरी उपरीक्षक कोमल शाहले मृतक नीरजका पिता श्रीराम हजार दुसादसँग रु ५० लाख फिरौती लिने उद्देश्यले मङ्सिर ५ गते बालकको अपहरण गरी पटेल र यादवले हत्या गरेको जानकारी दिए । उनले अपहरणको १२ दिनपछि अर्थात् मङ्सिर १७ गते मोबाइलबाट नीरजका पितालाई फोन गरी यादवले रु ५० लाख फिरौती माग गरेपछि उक्त नम्बरलाई पच्छ्याउँदै जाँदा पहिले यादव र उनले दिएको जानकारीका आधारमा घटनाका मुख्य योजनाकार पटेल पक्राउ परेको बताए ।