सरकारलाई चीनको स्वागत, ३३ महिनादेखि बन्द नाका प्रचण्ड प्रधानमन्त्री भएको भोलिपल्टै खुल्यो



काठमाडौं,पुस १४ । परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ती प्रकाशित गर्दै ‘रसुवागढी–केरुङ नाका औपचारिक रुपमै दुईतर्फी ब्यापारका लागि सञ्चालनमा आएको’ भनेको छ । त्यसअघि नेपालस्थित चिनियाँ दूताबास र त्याहाँका प्रवक्तले ट्वीटमार्फत् यही सन्देश बाँडेका थिए । बुधबार तिब्बतको बाणिज्य विभागले केरुङमा औपचारिक कार्यक्रम नै गरेर नाका दुईतर्फी रुपमा सञ्चालनमा आएको भनेको छ । यससँगै अर्को महिनादेखि हिल्सा–पुराङ नाका पनि एकतर्फी रुपमा सञ्चालन गर्न दुबै देश राजी भएका छन् ।

चीनले भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका अबरुद्ध राख्दै आएको छ । अहिले पनि उक्त नाका एकतर्फी रुपमा ज्यादै न्यून सामान भित्र्याउनमात्रै उपयोग भइरहेको छ । २०७६ चैतमा कोभीडका कारण लकडाउन भएसँगै नेपालका उत्तरी नाकाहरु बन्द थिए । तर पछि केरुङ र तातोपानी नाका एकतर्फी रुपमा फट्टफुट्ट चले पनि नेपालबाट तिब्बतको बजारमा कुनै वस्तु छिर्नै पाएको थिएन ।

कोभीडको त्रास हटे पनि चीनले शुन्य कोभीड नीतिलाई कायम राखेको भन्दै नेपाली सामान स्थल मार्गबाट तिब्बत भित्रिन दिएन । तर अहिले एमाले र माओवादीको पुनरमिलनबाट सरकार गठन भएको भोलिपल्टै रसुवागढी नाका दुईतर्फी खुला गर्न चीन तयारमात्रै भएन, उसले औपचारिक कार्यक्रममार्फत् उत्सव नै मनायो ।

केरुङमा सीमा नाका सञ्चालन गर्न भन्दै कार्यक्रम आयोजना गर्नुअघि नै रसुवागढीबाट नेपाली हस्तकलाका सामान बोकेका ६ वटा ट्रक तिब्बत छिरिसकेका थिए । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले ५० लाखभन्दा बढी मूल्यका सामान मंगलबार नै जाँचपास भएर चीन प्रस्थान गरिसकेको र बुधबार थप २ गाडी सामान जाँचपास भएको बताएका छन् ।

संसदको दोस्रो ठूलो दल नेकपा एमालेको सहयोगमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि चीनले नाका खोलेर स्वागत गरेको कतिपयको बुझाइ छ । यही कारण ३३ महिनापछि टिमुरेको बाटो भएर नेपाली सामान तिब्बतको बजारमा प्रवेश पाएको छ ।

यसअघि चीनको ठूलो प्रयासका बाबजुद नेपाल कम्युनिष्ट पार्टीको फुट जोगाउन नसकेको चीनले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेसँगै कठोर नीति अंगालेको थियो । नेपालमा अमेरिकी परियोजना एमसीसी कार्यान्वयन गर्ने गरी सरकारले संसदीय अनुमोदनको प्रक्रिया अघि बढाएसँगै चीनले अघोषित नाकाबन्दी गर्दै आएको थियो ।

चिनियाँ अवरोधका कारण नेपालबाट चीनतर्फ हुने निर्यात हरेक वर्ष घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा नेपालले चीनबाट १०० रुपैयाँको सामान ल्याउँदा चीनले १ रुपैयाँको सामान लान्थ्यो । तर त्यसपछिका वर्षमा यो अनुपात अझै साँघुरिएको छ । यो वर्ष मंसिरसम्मको तथ्यांकका आधारमा चीनबाट १०० रुपैयाँको सामान ल्याएर नेपालले २५ पैसाको मात्रै निर्यात गरेको छ ।

नेपाल चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य एवम् बाणिज्य तथा ब्यापार सहजिकरण समितिका सभापति निरज राईले नाका खुल्दा नेपाली सामान लान र चीनबाट आयात गर्न पनि चाँडो हुनु बताए । उनले ब्यापार लागत समेत बच्ने भएकाले नेपालको निर्यात प्रबद्र्धनमा समेत यो कदमले सघाउ पुग्ने बताए ।

नेपालका उत्तरी नाकाबहरुबाट चीनको मुख्य भूमिसम्म खासै वस्तु निर्यात हुँदैन । नेपालका कारागारमा कैदीबन्दीले हातले बुनेका मुढा नेपालबाट तिब्बत निर्यात हुने मुख्य सामाग्रीमा पर्छ । अहिले रसुवाबाट चीन छिरेका सामानमा पनि सबैभन्दा धेरै यस्तै मुढा छन् । पित्तलबाट बनेका बुद्धका मूर्ति र तामाका भाँडाकुँडा पनि तिब्बत निर्यात हुन्छ । जडिबुटीहरु चाहीँ मुख्य भूमिकै क्वाङ्चौसम्म पुग्ने गरेको ब्यापारीहरु बताउँछन् ।

प्रागऐतिहासिक कालदेखि नै ब्यापारिक नाता गाँसेका नेपाल र तिब्बतबीचको ब्यापार सम्बन्ध पुनः सुचारु गर्न चीन तयार भएको अहिलेको परिवेशलाई धेरैले नयाँ सरकारको समीकरणसँग जोडेर हेरे पनि केही कूटनीतिज्ञहरु मान्न तयार छैनन् । त्रिभुवन विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्बन्ध एवम् कूटनीति विषयका प्राध्यापक खड्ग केसीले नाका खुल्नु र नेपालमा बाम रुझानको नयाँ सरकार गठन हुने ‘एक सुखद संयोग’मात्रै भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्