झन्डै २ हजार गाडी वीरगञ्ज भन्सारमा अड्किए

वीरगञ्ज,पुस १५ । विभिन्न व्यवसायीले आयात गरेर वीरगञ्ज भन्सार ल्याइपुर्याएका सवारीसाधन जाँचपास गराएर नलग्दा भन्सार परिसरमा पार्किङमै समस्या आउन थालेको छ । भन्सार स्रोतका अनुसार अहिले त्यहाँ १ हजार ९ सय ९७ गाडी छन् । त्यसमा १ हजार ४ सय ३७ ट्रक, बस, टिपरजस्ता ठूला गाडी छन् । बाँकी ५ सय ६० जीप, कार, भ्यान छन् ।
त्यहाँ सवारीसाधन राखेबापत व्यवसायीले पार्किङ शुल्क तिरे पनि ठाउँको अभाव हुँदै गएपछि भन्सार कार्यालय असहज स्थितिमा देखिन्छ । ‘दुई महीनाभन्दा बढी भन्सार परिसरमा गाडी राखेमा जफतको प्रक्रिया अघि बढाउन सकिने कानूनी प्रावधान भए पनि यहाँ त्यस्तो हुँदैन,’ भन्सारका एक अधिकारीले आर्थिक अभियानसँग भने ।
अहिले वीरगञ्ज भन्सारमा रोकिएका सवारीसाधनमा टाटा, अशोक लेल्यान्ड, टोयोटा र हुन्डाई ब्रान्डका धेरै रहेको भन्सार कार्यालयले जानकारी दिएको छ ।
नेपालका लागि टोयोटाका अधिकृत वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिका सिनियर सेल्स म्यानेजर महेन्द्र श्रेष्ठ गाडी विक्री नै नभएपछि भन्सारमा थुप्रिएको बताउँछन् । ‘गाडी विक्री नै हुँदैन । ग्राहकले नकिन्ने गाडी उच्च भन्सार तिरेर ल्याएर के गर्नू,’ उनले भने । सर्वसाधारणसँग पैसा नभएकाले गाडी विक्री घटेको उनको अनुमान छ ।
व्यवसायीले आर्थिक स्थिति सहज हुँदै गएर विक्री बढ्न थालेपछि मात्रै ती गाडी छुटाउने बताइरहेका छन् । सरकारले गाडीमा उच्च भन्सार महसुल लिन्छ । त्यसैले विक्री नभएर गोदाममा थन्क्याउनुपर्ने गाडीलाई चर्को भन्सार तिरेर ल्याउने ‘मुड’मा व्यवसायी देखिँदैनन् । उनीहरूले उच्च भन्सार तिरेर ल्याउनुभन्दा केही पार्किङ शुल्क तिरेर त्यहीँ राख्ने विकल्प उत्तम ठानेको देखिन्छ ।
बैंकिङ प्रणालीमा तरलता सहज भएपछि गाडी विक्री बढ्ने आफूँहरूको आकलन रहेको हुन्डाईका अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका जनरल म्यानेजर दीपक थपलियाको भनाइ छ । उनका अनुसार बैंकहरूले गाडी खरीदका लागि ऋण दिइरहेका छैनन् । ‘बैंकबाट लगानी नभएसम्म अवस्था सहज हुन गाह्रो छ । सरकारले यस विषयलाई गम्भीरताका साथ लिनुपर्यो,’ उनले भने ।