१ खर्ब ६३ अर्बको धान फल्यो, आयात र खपतको तथ्यांकमा गोलमाल



काठमाडौं,पुस १५ । यो वर्ष नेपालमा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको अनुमानित तथ्यांक कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले प्रकाशित गरेको छ ।

सरकारले गत कात्तिक १६ को मन्त्री परिषद बैठकबाट तोकेको मोटो धानको न्यूनतम समर्थन मूल्य (प्रतिक्विण्टल २ हजार ९ सय ६७ रुपैयाँ) तोकेको थियो । यही मूल्यलाई मात्रै हिसाब गर्ने हो भने यो वर्ष नेपालमा १ खर्ब ६२ अर्ब ७८ करोड ३६ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको धान फलेको देखिएको छ।

गत साल धान भित्र्याउने बेलामा बेमौसमी वर्षा भएका कारण धानको उत्पादन घटेर ५१ लाख ५१ हजार टनमात्रै भएको थियो । दुई वर्षअघि आर्थिक वर्ष २०७७÷७८ मा हालसम्मकै धेरै ५६ लाख २१ हजार टन धान फलेको थियो । यो वर्ष धान खेति गरिएको क्षेत्रफल पोहोरभन्दा २ प्रतिशत घटेर १४ लाख ४७ हजार ७८९ हेक्टरमा सीमित भएको सरकारी अनुमान छ । तर उत्पादकत्वमा भएको बृद्धिले यो साल धानको उत्पादन उकालो लागेको हो ।

सबैभन्दा धेरै धान मधेश प्रदेशमा फलेको छ । मधेशले १३ लाख ८८ हजार टन उत्पादन गरेको सरकारी आँकडा छ । प्रदेश १ ले १३ लाख ३६ हजार टन र लुम्बिनीले ११ लाख ५१ हजार टन धान फलाएका छन् । नेपालको कृषि अर्थतन्त्रमा धानले मात्रै १३ प्रतिशत योगदान गर्छ भने कुल गार्हस्थ्य उत्पादनमा यसको हिस्सा ४ प्रतिशत छ ।

नेपालमा यो वर्ष उत्पादन भएको धानले नपुग्ने र चार लाख ८० हजार मेट्रिक टन चामल आयात गर्नुपर्ने मन्त्रालयले आँकलन गरेको छ । नेपालले बर्सेनि अर्बौं रुपैयाँको धान चामल आयात गर्दै आएको छ। यो वर्षको मंसीरसम्म पनि १२ अर्ब ६५ करोड मूल्यको धान चामल आयात भइसकेको भन्सार विभागको तथ्यांक छ ।

चाहिनेभन्दा बढी

तथ्यांक विभागले सन् २०१६ मा गरेको खाद्यान्न खपत सम्बन्धी सर्वेक्षणलाई आधार मान्ने हो भने अहिले पनि २ करोड ९१ लाख नेपालीको पेट भर्न वर्षभरीमा ६२ लाख टन धान भए पुग्छ । यसमा ५४–५५ लाख टन धान नेपालमै उत्पादन हुने गरेको छ ।
नेपाल धानमा आत्मनिर्भर त छैन, तर देशलाई केवल ६–७ लाख टन धान वा त्यसबाट बन्ने परिमाणमा चामल भए पुग्छ । कृषि विभागका अनुसार औसत १०० किलो धानबाट ६२ किलो चामल उत्पादन हुने गरेको छ ।

तर इतिहासमै बढी धान फलेको वर्ष २०७७/७८ मै ७ लाख टन धान र साढे ५ लाख टन चामल आयात भएको थियो । यो वर्षको ५ महिनामा झण्डै ३ लाख टन चामल आयात भइसकेको छ । गत वर्ष चामलमात्रै ५ लाख टनभन्दा बढी आयात भएको थियो । धान र कनिका पनि उसैगरी आयात भइरहेको थियो ।

तर गत भदौमा भारतले चामल निर्यातमा २० प्रतिशत भन्सार लगायो र कनिका निर्यातमा प्रतिबन्ध लगायो । अहिले पनि यो कर र प्रतिबन्ध कायमै छ । तर नेपालका लागि ६ लाख टन धान निर्यात गर्न कर नलाग्ने व्यवस्था गरेर भारतले हालैमात्र कोटा तोकेको छ । यसले नेपालमा पछिल्लो समय धान चामल आयात केही कम भएको छ ।

तर अघिल्ला वर्षको आँकडाले त्यसो भन्दैनन् । आर्थिक वर्ष २०७४/७५ मा २९ अर्ब ५३ करोडको धान चामल आयात भएकोमा २०७५/७६ मा ३२ अर्ब ५९ करोड र २०७६/७७ मा ३३ अर्ब ६५ करोड पुग्यो । २०७७/७८ मा देशभित्रमात्रै बढी धान फलेको होइन, आयातमा पनि कीर्तिमानी बन्यो । त्यो साल ५० अर्ब ७९ करोडको धान चामल आयात भयो । २०७८/७९ मा ४७ अर्ब ५७ करोड र यो वर्षको ५ महिनामा १२ अर्ब ६५ करोडको धान चामल आयात भएको छ ।

यसले नेपाललाई चाहिनेभन्दा निकै बढी धान आपूर्ति भइरहेको देखिन्छ । २०७४/७५ देखि २०७६/७७ सम्मको तीन वर्षमा ८ लाख टन हाराहारी धान आयात भएको थियो । तर २०७७/७८ मा एकै वर्ष करीब ७ लाख टन र २०७८/७९ मा ५ लाख टन धान आयात भयो ।

तथ्यांकमा समस्या

कृषि विभागका पूर्वमहानिर्देशक डिल्लीराज शर्मा नेपालको मूलतः पश्चिम तराईबाट ठूलो परिमाणमा धान अबैध रुपमा भारत निकासि हुने गरेको बताउँछन् । नेपालबाट विशेष प्रजातिका पहाडी र हिमाली धानका चामल बाहेक साधारण धान निर्यात गर्न कानूनी बन्देज छ । तर तथ्यांकमा नरहने गरी अनौपचारिक रुपमा भारततर्फ धान जाने गरेको उनी बताउँछन् ।

नेपालमा स्तरीय धान मिल नभएका कारण पोलिस (मोटो चामललाई समेत खुर्किएर मसिनो चामल बनाउने प्रविधी) गर्न सम्भव छैन । यसले यहाँका धान ब्यापारीहरुले अबैध रुपमा भारत पुर्याउने र उताबाट भन्सारमा उल्लेख हुने गरी चामल आउने गरेको पाइएको शर्माको भनाइ छ । यदी यसो हो भने त्यो गैर कानूनी निर्यातमात्रै होइन, राजस्व छलि र पूँजी पलायनको हतियार पनि बनेको हुन सक्छ ।

तथ्यांकका अरु पनि समस्या छन् । गत वर्ष चामल भनेर खोलिएको प्रतितपत्रमार्फत् मलंगवा भन्सारबाट भित्र्याइएको ट्रकमा चिनी फेला परेको थियो । धान आयात गर्न ५ प्रतिशत र चामल आयातमा ९ प्रतिशतमात्रै कृषि सुधार शुल्क लाग्छ । तर चिनी आयात गर्न ४० प्रतिशत राजस्व लाग्ने भएकाले यसरी एउटा वस्तु भनेर अर्को वस्तु आयात भएको हुनसक्ने कतिपयको शंका छ ।

नेपालबाट पूँजी पलायन गर्न ब्यापारीहरुले थोरै चामल ल्याएर बढी परिमाण देखाइरहेको हुन सक्ने पनि कतिपय बताउँछन् । तर विदेशी मुद्राको नियमन गर्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट कोभीडको बेलामा बढेको आयातको ग्राफले नेपालको वास्तविक मागलाई दर्शाउने बताउँछन् । त्यसअघि र पछिको तथ्यांकमा सीमा क्षेत्रबाट हुने अनौपचारिक ब्यापारको आँकडा छुटेको हुनसक्ने उनको बुझाइ छ ।

यसरी हेरियो भने मध्येम तौलको चामल नै ठूलो परिमाणमा अबैध आयात भइरहेको र यसबाट राज्यले ठूलै राजस्व गुमाइरहेको देखिन्छ । मुलुकको बजार र अर्थतन्त्रबारे देखिएका तथ्यांकहरु पनि भरपर्दो नभएको यसबाट पुष्टि हुन्छ ।

नेपालमा मोटा चामल र धान पशु आहारका लागि पनि प्रयोग हुन्छन् । तर यसको यथेष्ट तथ्यांक छैन । नेपालमा उत्पादन हुनेमध्ये करीब १० प्रतिशत चामल मदीराजन्य पदार्थ (जाँड, रक्सी, वियर आदी) उत्पादनमा प्रयोग भइरहेको पाइएको कृषि विभागका पूर्वमहानिर्देशक शर्मा बताउँछन् । यस्ता फरक फरक तथ्यांक र भिन्न तर्कले अनेकौं आशंका जन्माएका छन्, जसको निराकरण गर्न सरकार अझै तयारी हालतमा छैन ।

प्रतिक्रिया दिनुहोस्