३७ रनको शानदार जितसँगै नेपालको विजयी सुरुआत
काठमाडौं, वैशाख १२ । विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले प्रभावशाली जित हात पार्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्सलाई ३७ रनले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ दशमलव २ ओभरमा अलआउट हुँदै २०० रनमा समेटिएको थियो। २०१ रनको लक्ष्य पछ्याएको संयुक्त अरब इमिरेट्सले कमजोर प्रदर्शन गर्दै लक्ष्य भेट्टाउन सकेन।
संयुक्त अरब इमिरेट्सका लागि हर्पित सिंहले सर्वाधिक ३९ रन बनाए भने कप्तान मोहम्मद वासिमले ३४ रन जोडे। आकाशदीप नाथले ३० रन बनाउँदा आर्यान्स शर्मा र निलन्स केसवानीले समान १८–१८ रन बनाए। अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले १–१ विकेट लिए।
त्यसअघि नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ९० बलमा ५ चौका र २ छक्काको मद्दतमा ७५ रन बनाएर टोलीलाई सम्मानजनक योगफल दिलाए। कुशल भुर्तेलले २४ रन बनाउँदा बसिर अहमदले २० रन जोडे।
आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रन बनाए भने भीम सार्कीले १० रन थपे। आशिफ शेख ७ रनमा आउट हुँदा कप्तान रोहित पौडेल २ रनमै समेटिए। करण केसीले २२ रनको योगदान दिए।
संयुक्त अरब इमिरेट्सका अजय कुमारले ३ विकेट लिए भने तनविर र जुनैद सिद्दिकीले समान २–२ विकेट लिए। हैदर अली र मुहम्मद सहदादले १–१ विकेट लिए।

