नवलपरासीमा सात वर्षमा बन्यो विद्युत् सबस्टेशन

त्रिवेणी,पुस २०। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बोझापोखरीमा सात वर्षअघि निर्माण शुरु गरिएको विद्युत् सबस्टेशनको निर्माण कार्य पूरा भएको छ ।
२०७३ सालमा तीन वर्षभित्र निर्माणको काम सम्पन्न गर्ने गरी जिल्लाको पहाडी क्षेत्र बोझापोखरीमा विद्युत् सबस्टेशन निर्माणको काम शुरु गरिएको थियो । पहिलो सम्झौताअनुसार २०७५ सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो तर त्यस अवधिमा जम्मा पाँच प्रतिशत काममात्रै भएर झन्डै रुग्ण आयोजनामा परिणत भएको सबस्टेशन निर्माण कार्य पटकपटक म्याद थप गर्दै पहिलो सम्झौता अवधिको करिब चार वर्षपछि सम्पन्न भएको हो ।
नवलपुरको पहाडी क्षेत्र बौदीकाली, बुलिङटारसहित हुप्सेकोटको पहाडी क्षेत्रमा विद्युतीकरण गर्ने गरी आयोजना शुरु गरिएको थियो । ठेकेदारले काम नगर्दा लामो समयसम्म अलपत्र बनेको सबस्टेशन निर्माणको काम सकिएपछि जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणको बाटो खुलेको छ । जिल्लाका कतिपय पहाडी क्षेत्र अझै पनि अन्धकार छन् । तनहुँतर्फबाट लाइन तानेर केही क्षेत्रमा विद्युतीकरण गरिएको छ । कतिपय स्थानमा लघु जलविद्युत्बाट विद्युतीकरण गरिएको भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन । साथै लामो दूरीबाट लाइन ल्याएर विद्युतीकरण गर्दा बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ ।
अब बोझापोखरीको सबस्टेशन निर्माण सकिएकाले जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरण सहज हुने नेपाल विद्युत् प्राधिकरण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना बुटवल डिभिजनका सहायक प्रबन्धक विनोद पन्थीले बताए । ‘आयोजनाको काम सकिएको छ, अहिले सबस्टेशन चार्ज गर्ने काम चलिरहेको छ । चाँडै यहाँबाट जिल्लाको पहाडी क्षेत्रमा बिजुली बाल्ने काम हुनेछ,’ सहायक प्रबन्धक पन्थीले भने ।
उनका अनुसार यही पुस १४ गतेदेखि नवलपुरको प्रगतिनगरबाट करेन्ट प्रवाह गरी लाइन चार्ज गर्ने र सबस्टेशन चार्ज गर्ने काम शुरु भएको छ । यसलगत्तै ११ हजार केभीको लाइन चार्ज गरी स्थानीयस्तरमा वितरणको काम शुरु हुनेछ ।
आयोजनामार्फत पोखरीबाट डेढगाउँ जाने बाटोको धौबादीसम्म र बुलिङटारको केही क्षेत्रसम्म ११ हजार केभीको लाइनसमेत वितरण हुनेछ । त्यसका लागि पोल गाड्ने र तार टाँग्ने काम सकिएको छ ।
‘सबस्टेशन सञ्चालन पछि केही क्षेत्रमा स्थानीयस्तरमा विद्युत् वितरणका लागि आयोजनाबाट काम हुनेछ, त्यसबाहेक सम्बन्धित जिल्लाबाट विद्युत् वितरणको काम हुनेछ,’ सहायक प्रबन्धक पन्थीले भने, ‘ढिलोमा एक महिनामा सबै काम सकिने विश्वास छ, हामीले निर्माणको जिम्मा पाएको कम्पनीलाई सोहीअनुसार काम गर्न भनेका छौं ।’
बोझापोखरी क्षेत्रमा भने केही दिनमा दुईवटा ट्रान्सफर्मर जडान गरी बत्ती बाल्ने तयारी गरिएको उनले बताए । सबस्टेशन निर्माणको काम अलपत्र पर्दा लामो समयदेखि अन्धकारमा बस्न बाध्य पहाडी क्षेत्रका बासिन्दा अब भने उज्यालोमा बस्न पाउने भएका छन् ।
कोभिडको प्रवाह र विभिन्न कारणले आयोजना निर्माण हुन समय लागेको सहायक प्रबन्धक पन्थीले बताए ।