प्रधानमन्त्री दाहाललाई ‘प्रचण्ड’ बहुमत, विश्वासको मतको पक्षमा २६८ सांसद, विपक्षमा २ मात्रै



काठमाडौं,पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत पाउनुभएको छ । मंगलवारको प्रतिनिधिसभा बैठकमा उहाँले विश्वासको मत पाउनुभएको हो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये २७० जना उपस्थित रहेको बैठकमा दाहालको पक्षमा २६८ मत र विपक्षमा २ मत परेको छ । उहाँले पाउनुभएको मत प्रतिनिधिसभाको  ‘प्रचण्ड’ बहुमत हो । 

दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । नेपालको संविधानको धारा ७६ (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । 

उक्त धारा बमोजिम प्रधानमन्त्री नियुक्त हुनेले संविधानको धारा ७६ (४) बमोजिम संसद्मा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । 

संविधानको धारा ७६ (२) मा प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ । 

प्रतिक्रिया दिनुहोस्