जसले पब्जी खेलेरै जिते झन्डै ४ करोड रुपैयाँ, नेपालको शिर पनि उँचो पारे



काठमाडौं,पुस २६ । अन्तरराष्ट्रिय पब्जी प्रतियोगितामा नेपाली टोली दोस्रो भएको छ । इन्डोनेशियाको जकार्तामा जनवरी ६ देखि ८ सम्म भएको ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२’ को अन्तिम खेलमा नेपालको व्यावसायिक पब्जी टोली डीआरएस स्पोर्स्ट्स टर्कीको एसटूजीसँग पराजित भएर दोस्रो स्थानमा समेटिएको थियो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्दा नेपाली टिम डीआरएसले १५८ अंक मात्र बनायो । विजेता एसटुजीले कूल ५ लाख ८४ हजार डलर पाउँदा रनर अप डीआरएसले कूल २ लाख ९२ हजार डलर (३ करोड ८६ लाख रुपैयाँ) पुरस्कार राशी पायो ।

फाइनलमा मात्रै रनरअपको पुरस्कार राशी २ लाख डलर थियो । फाइनलको १८ ओटा चरणमा एसटूजीले कूल १९० अंक बनाउँदा डीआरएसले १५८ अंक मात्रै बनाउन सक्यो । 

फाइनल पुगेको नेपालकै अर्को टोली ट्रेन्ड टू किल १३ औं स्थानमा समेटियो । यो टोलीले फाइनलका १८ चरणमा जम्मा ११२ अंक जोड्न सक्यो भने कूल १ लाख ३२ हजार ५०० डलर पुरस्कार राशी हात पार्यो । डिआरएसले गत महीना च्याम्पियनसिपको फाइनल चरणका लागि स्थान बनाएको थियो । डिआरएसमा प्लेयरहरु दीपेश गुरुङ, साहस भण्डारी, सुविन प्रजापति र समीर गुरुङ छन् । टिमका सीइओ भिक्टर पौडेल हुन् । कूल ४० लाख डलर पुरस्कार राशी रहेको सो प्रतियोगिताको फाइनलमा १६ टिम सहभागी भएका थिए । 

प्रतियोगिताको लिग खेल नोभेम्बर १० देखि डिसेम्बर ४ सम्म मलेशियाको क्वालालम्पुरमा भएको थियो । समूह चरणमा ४८ टोली सहभागी भएको भएपनि सर्भाइभल र लास्ट चान्ससम्म आइपुग्दा प्रतिस्पर्धी टोली क्रमशः २४ र १६ मा समेटिएका थिए ।

फाइनलमा लिग चरणबाट आएका १४ टिम र सिधैं निम्तो पाएर आएका २ टोलीबीच प्रतिस्पर्धा भएको थियो । हरेक चरणमा प्रवेश गर्ने टोलीलाई निश्चित नगद पुरस्कार दिइएको थियो । सबै चरणमा गरेर डिआरएसले कूल २ लाख ९२ हजार हात पार्दा ट्रेन्ड टू किलले भने जम्माजम्मी १ लाख ३२ हजार डलर हात पारेको हो । 

काठमाडौंका मेयर बालेन शाह प्रतिस्पर्धीहरुलाई हौसला दिन जकार्ता पुगेका थिए । उनले गएको वर्ष ई–स्पोर्ट्सलाई टेवा दिन १ करोड रुपैयाँ बजेट ल्याउने घोषणा गरेका थिए । बजेट लगायतको विषयलाई लिएर सो घोषणा विवादित समेत बनेको थियो ।

नेपालमा ईस्पोर्स्टसबारे धेरै ज्ञान छैन । यसको विकासमा खासै कसैको ध्यान गएको छैन । यस अघि पनि डोटा टू, काउन्टर स्ट्राइकः गो, पब्जी मोबाइल र फिफा जस्ता ई-स्पोर्ट्स गेममा नेपाली टोलीले सहभागिता जनाइसकेका छन् । केही टोलीले तलबमै प्लेयरहरू राखेर पनि खेलाइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्