फिलिपिन्सबाट आएकी ग्रान्डा जसले ‘फूड ट्रक’ चलाएर मासिक ५ लाखको व्यापार गर्छिन्



मोरङ,पुस २६ । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी  फिलिपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेकी छिन् ।

कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि  ग्रान्डाले प्रोत्साहित गरिन् । त्यस दम्पतीले अहिले ‘फूड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेको छ ।

फूड ट्रक भनेको चारचक्के गाडीमा खानाका विभिन्न परिकार पकाएर आपूर्ति गर्ने घुमन्ते होटल हो । विराटनगर–४ को कञ्चनबारीको सडक छेउमा यस दम्पतीले दिनको ३ बजेदेखि बेलुकीको ७ बजेसम्म फूड ट्रक चलाउने गरेको छ ।

विराटनगरमा सञ्चालित एकमात्र फूड ट्रकबाट दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको छ । अर्थात महीनाको ५/६ लाख रुपैयाँसम्मको व्यापार हुन्छ ।

विसं २०५२ मा दुबईको ‘स्पिनिस क्याटेरिङ’ मा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई गएका थिए । त्यहीँको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेममा परे । २०७५ मा दुवैजना स्वदेश फर्किएर विवाह गरे ।

विसं २०७६ चैत ११ गतेदेखि देशमा कोरोनाका कारण लकडाउन लागेपछि विश्वकर्मा र ग्रान्डालाई पनि आर्थिक समस्या पर्‍यो । लकडाउन खुल्नेबित्तिकै विश्वकर्माले पुनः वैदेशिक रोजगारमा जाने तयारी गर्न थाले । ग्रान्डाले भने नेपालमै प्रशस्त सम्भावना देखिन् र आफ्ना श्रीमानलाई नेपालमा नै व्यवसाय गर्न प्रेरित गरिन् । 

विदेशमा चारचक्के गाडीमा विभिन्न खानेकुराको परिकार बनाएर घुम्ती होटल चलाउनु सामान्य मानिन्छ । क्याटेरिङमा काम गरेका विश्वकर्मालाई खाना बनाउने ज्ञान थियो । ग्रान्डाको सल्लाह र सुझावमा विश्वकर्माले गाडी किनेर होटलको आकार दिए ।

यसमा उनको २२ लाख रुपैयाँ खर्च भयो । गाडीवाला होटलले हाल दैनिक २० हजार रुपैयाँसम्म कारोबार गर्छ ।

शान्त र जति पनि अवसर रहेको नेपाल छाड्न मनै नलागेको ग्रान्डा बताउँछिन् । उनले वैदेशिक रोजगारीमा जाने युवायुवतीका लागि नेपालमै प्रशस्त अवसर रहेको सन्देश दिएकी छिन् ।  

तीन महीनाअघि मात्र नेपाली नागरिकता पाएकी ग्रान्डा आफ्ना श्रीमान् विश्वकर्मासँग अङ्ग्रेजीमा वार्तालाप गर्छिन् भने ग्राहकसँग नेपालीमै कुराकानी गर्छिन् । 

विराटनगर–४ स्थित नोबेल मेडिकल कलेजका चिकित्सक डा. सूर्यप्रकाश सोनीले आफू फूड ट्रकको नियमित ग्राहक भएको बताए । उनले फिलिपिन्सकी महिलाको मेहेनत देखेर आफू दङ्ग हुने गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्