आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं,पुस २७ । आजभन्दा लगभग ३०० बर्षअघि २२से अनि २४से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ ।
यि राजालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ ।
विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू-भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।
१८ औं र १९औं शताब्दीको अन्तराष्ट्रिय राजनिती हेर्ने हो भने पनि अहिलेका बिशालयकाय बिभिन्न देशहरु त्सैसमयमा एकिकृत भएका देखिन्छन् । ससाना राज्य, शाषक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन यूद्धहरु त्यस बखत बिश्वभरि नै भएका थिए । चीन, जर्मन अनि ईटाली लगायतका देशहरु को पनि एकताका कथाहरु हाम्रो नेपालको भन्दा फरक छैनन् । त्यसैले होला आफ्नो अन्वेषण पुस्तक आधुनिक नेपालमा इतिहासबिद्ध डि आर रेग्मी लेख्नुहुन्छ कि पृथ्वी नारायण शाहको जीतको प्रकृती उतिखेरका वेसेक्सका सम्राटले ससाना ब्रिटिश टापुहरुमा गरेको बिजय भन्दा फरक देखिँदैन भनेर ।
यस हिसाबले बिकास अनि राष्ट्रिय एकतामा संगसगै दौड शुरु गरेको नेपाल, जर्मन, ईटाली अनि चीन लगायतका देश तुलना गर्दा आज नेपाल भने बिकास, समृद्धि अनि सरकारको ठूलो खाडलको सामना गरिरहेको छ ।
२०६२ र ६३ को जन-आन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वी नारायण शाहको सालिकमा भब्यरुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर मनाईने चलन थियो । गणतन्त्रको शुरुवातसंगै राजसंस्था अनि राज धरोहरप्रतिको अकास्मात वितृष्णाले केही महत्वपूर्ण चलनहरुपनि बगाएर लगेको छ । चाहे त्यो दशैंघरमा गोर्खाबाट ल्याईने फूलपाती होस् या पृथ्वीजयन्ति होस्, नेपाली सभ्यताका एतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहलाई नेपालीहरुले सम्झिन अावश्यक छ । पृथ्वी नारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरुका दस्तावेजले नेपाल अनि देशको सुशासनप्रतिको उनको मोहलाई स्पष्ट पार्छ, समग्रमा राष्ट्रिय एकताको सन्देश दिन्छ ।