नुवाकोटको तारुकामा यसवर्ष दुई दिन गोरु जुधाईने

नुवाकोट,पुस २७ । जिल्लाको तारुकामा यसवर्ष दुई दिन गोरु जुधाईने भएको छ । परापुर्वकालदेखि माघे संक्रान्तिको दिन गोरु जुधाई हुने नुवाकोटको तारुकामा यो पाली भने दुई दिन गोरु जुधाउन लागिएको हो ।
आयोजकका अनुसार यसवर्ष माघ १ र २ गते गोरु जुधाउने तयारी गरिएको छ । जुधाइने गोरुको संख्या बढी भएको र त्यस दिन मनोरञ्जनात्मक कार्यक्रम र अतिथिहरुको भाषणले गर्दा एकै दिन भ्याउन नसकेकाले दुई दिन गोरु जुधाउन लागिएको आयोजकले जनाएको छ ।
बुधवार विदुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसंक्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको जनाएको छ ।
गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदनकुमार श्रेष्ठले किसानलाई यही पुस २३ गतेसम्म दर्ता गर्न जारी गरेको सूचनाअनुसार २८ हल गोरु जुधाउन दर्ता भएका छन् ।