खाना नपकाएको रिसमा श्रीमानले कुटेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ



झापा, पुस २७ । खाना नपकाएको झोंकमा झापामा एक युवकले निर्घात कुटपिट गरेर पत्नीको हत्या गरेका छन् ।

भोजपुरको अरुण गाउँपालिका १ घर भएका र हाल झापाको अर्जुनधारा नगरपालिका ९ खरबानीचोक बस्दै आएका ३५ वर्षीय विश्वराज घिसिङले श्रीमतीको हत्या गरेका हुन् । कान्छी श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङलाई उनले खाना नपाएको झोंकमा कुटपिट गरेका हुन् ।

मादकपदार्थ सेवन गरेर विश्वराजले श्रीमती प्रमिलाको पेट र छातीमा निर्घात प्रहार गरेपछि उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

घर बनाउने मिस्त्रीको काम गर्दै आएका विश्वराज घरमा उपचारका लागि भोजपुरबाट आमासमेत आएको भन्दै हिजो साँझ मासु लिएर घर गएको बताइएको छ । साँझ साढे ७ बजे श्रीमतीले बिहानदेखिको भाँडा नमाझेको र बेलुकीको खानासमेत नपकाएको झोंकमा कुटपिट गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्