नुवाकोट भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा भव्य मेलाको तयारी

नुवाकोट,पुस २७ । जिल्लाको पुर्वी क्षेत्र पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यस वर्ष भव्य मेलाको तयारी गरिएको छ ।
दोश्रो दुप्चेश्वरका रुपमा परिचीत सो मन्दिरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको बजेटबाट देवालय तथा सिढीयुक्त बाटो निर्माणसंगै मेलाको तयारी गरिएको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष माधब सिटौलाले बताए ।
वर्षौंदेखि चल्दै आएको धार्मिक क्षेत्र युवा पुस्तान्तरण हुन नसक्दा लोपोन्मुख अवस्था रहेकाले मन्दिरको संरक्षण गरी पुरानै लयमा फर्काउन आफू लागी परेको वडाध्यक्ष्य सिटौलाले बताए । सिखरवेसीमा अवस्थित दुप्चेश्वर मन्दिरका झैं संरचना रहेको भद्रुटार दुप्चेश्वरमा स्थानीयले समेत जनश्रमदान गरेका छन् । मन्दिर तथा देवालय संरक्षणका लागि अग्रणी भूमिका निर्वाह गर्ने अध्यक्ष पाएकोमा स्थानीयलाई हर्षानुभूति भएको स्थानीय युवा हरिप्रसाद थपलिया बताउँछन् ।
मन्दिर क्षेत्रमा दर्शनार्थीका लागि उपयुक्त स्थान देवालय, सोलार ब्यवस्थापन, मन्दिरसम्म पुग्न सिढीयुक्त बाटो तय गरिएको छ । पौष मसान्तका दिन मेला लाग्ने यस मन्दिरमा यसवर्ष भने विभिन्न चुट्का,भजन, धामीझाँक्रीसहितको झाँकी, लोकदोहोरी कार्यक्रम हुने पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ कार्यालयले जनाएको छ ।
गाईको पाइला रहेको पत्थर
यस क्षेत्रमा गाईको पाईताला (खुर)को डोब भएको पत्थर समेत रहेको छ । सदियौदेखि यस क्षेत्रमा भगवान शिवको प्रार्थना तथा आराधना गरिदै आएको बताइन्छ ।

तर पछिल्लो समय मानिसको संख्यामा कमी हुँदै गएको र धार्मिक कार्यक्रम कम हुने गरेकाले संरक्षण स्वरूप पुनः संचालन गरिएको छ । बृद्धअबश्थाका केही अगुवाले सत्यभूमिलाई चलि आएको चालचलनलाई निरन्तरता दिनुपर्ने यस अघि बताउदै आएका थिए ।
पत्थरबीच फुटेको पानी मुल
मन्दिरमा अनौठो तथा रहस्यमय दृश्य देख्न सकिन्छ । आश्चर्य यो छ कि पत्थर बीचबाट पानीको मूल प्रवाह भएको छ । वर्षौंदेखि उक्त मूल प्रवाह न सुकेको छ न बढेको नै । धार्मिक कथन अनुसार उक्त स्थानमा गाईले दुध चढाउने गरेको समेत बताइएको छ ।

