बागमती गोल्डकप : भुटनीज युथ स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश, भोली संकटा र एपिएफबीच खेल हुने



काठमाडौ,पुस २८ । भुटनीज युथ स्पोर्टस् क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै भुटनीज क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको २ मिनेटमै भुटनीजका जर्सी नम्बर ४७ का दिरज थजालको हेडबाट उत्कृष्ट गोल भयो । त्यसैगरी दोस्रो हाफको ३८ औं मिनेटमा जर्सी नम्बर ७ का हेक्टर ओर्टेगले एक गोल गरेर भुटनीज २–० ले अग्रता लियो ।

यसअघि आर्मीलाई हराउँदै हिमालयन शेर्पा क्वाटरफाइनलमा प्रवेश गरेको थियो । अब भुटनीजले जावलाखेल युथ क्लबसंग पुष ३० गते सेमिफाइनल खेल खेल्नेछ । उद्धघाटन खेलमा जावलाखेलले आयोजक टिमलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।

भोली शुक्रबार संकटा क्लब र नेपाल एपिएफ क्लबबीच खेल हुनेछ । हिजो भएको खेलमा मच्छिन्द्रको आत्मघाती गोलबाट एपिएफले क्वाटरफाइनल यात्रा तय गरेको हो । यी दुई टिमबीचको खेलबाट विजयी भएका टिमले माघ १ गते मकवानपुर– ११ संग सेमिफाइनल खेल खेल्नेछ । मकवानपुर–११ ले नेपाल पुलिसलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

भुटनीज क्लबका हेक्टर ओर्टेग आजको खेलमा म्यान अफ दि म्याच घोषित भएका छन् । उनले नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।

बागमती खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता विजेताले ८ लाख र उपविजेताले ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा ७ विभागिय टिमसहित अन्तर्राष्ट्रिय र स्थानीय गरी १० टिमको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्