लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा

लुम्बिनी,पुस २९ । चार दशकअघि शुरू भएको लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा पुगेको छ । गुरुयोजना अनुसार विकास योजनाले देखिनेगरी आकार लिन थालेपछि लुम्बिनी विकास कोषका पदाधिकारी मात्र होइन, स्थानीय पनि उत्साहित छन् । कोभिडका कारण सुनसान बनेको लुम्बिनीमा पर्यटकको संख्या बढाउने चिन्ताबीच कोषका पदाधिकारीहरू गुरुयोजनाको पूर्णताको पर्खाइमा छन् ।
यो राष्ट्रिय गौरवको परियोजना हो । सन् १९७८ मा शुरू भएको यो परियोजना सन् १९९५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर काम शुरू भएको ४४ वर्ष बितिसक्दा पनि आयोजना अधुरै छ । लुम्बिनी गुरुयोजनामा पुरातात्त्विक क्षेत्र पवित्र उद्यान, अन्तरराष्ट्रिय बौद्ध विहार क्षेत्र र नयाँ लुम्बिनी गाउँसमेत गरी मुख्य तीन क्षेत्रमा विभाजन गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताए । लुम्बिनी गुरुयोजना तयार भएपछि कार्यान्वयनका लागि सन् १९७८ मा ‘विकास समिति गठन ऐन २०१३’का आधारमा लुम्बिनी विकास समिति गठन गरिएको थियो ।
कोषका प्रमुख भट्टराईका अनुसार गुरुयोजना बमोजिम पवित्र उद्यान क्षेत्रमा पोखरीको निर्माण सम्पन्न भइसकेको छ । लुम्बिनी गुरुयोजना वरिपरि १६ किलोमिटर सुरक्षा पर्खाल निर्माण सकिएको छ । लुम्बिनीको मेरुदण्डको रूपमा रहेको गुरुयोजना अनुसारको केन्द्रीय नहर पूरा भई गुरुयोजना अनुसार नै तीर्थयात्री एवं पर्यटकलाई उत्तरतर्फबाट बुद्ध जन्मस्थलसम्म जाने र आउने व्यवस्था गरिएको छ । केन्द्रीय नहरमा डुंगा सञ्चालन गरिएको छ । प्रो केञ्जो टाँगेले तयार गरेको शैलीमा प्रशासकीय भवन तथा पर्यटक सूचना केन्द्र निर्माण सम्पन्न भएको छ । गुरुयोजना क्षेत्रभित्र ४०० ओटा बिजुलीका पोल करीब २८ किलोमिटर एबीसीको तारसहित ५८० ओटा सोलार लाइटले बिजुली व्यवस्थापन भएको छ ।
गुरुयोजना अनुसार हालसम्म करीब ८६ प्रतिशत काम सम्पन्न भइसकेको र निर्माण तीव्र गतिमा सञ्चालन भइरहेको लुम्बिनी विकास कोषको दाबी छ । गुरुयोजना क्षेत्रभित्र शुद्ध पानी वितरणका लागि ११ लाख लिटर क्षमताको भूमिगत ट्यांकी, तीन लाख लिटर क्षमताको दुईओटा विशेष ट्यांकी र करीब २५ किलोमिटर क्षेत्रमा डीआई पाइपसहितको पानी वितरण प्रणाली सम्पन्न भएको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट लुम्बिनीलगायत बुद्धसँग सम्बन्धित क्षेत्रमा आवतजावत गर्न पाँचओटा विद्युतीय बस र १४ ओटा विद्युतीय ट्याक्सीको व्यवस्था गरिएको छ । यस्तै तीन सय ५० किलोवाट क्षमताको सोलार पावरप्लान्ट जडान भएको छ ।
यसैगरी पाँच हजार जना अटाउने अन्तरराष्ट्रिय बुद्धिष्ट सम्मेलन तथा ध्यान केन्द्र पनि निर्माण भएको छ । कुनै अवरोध नभए २०८१ सालभित्र लुम्बिनी गुरुयोजना पूरा हुनेगरी काम भइरहेको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
गुरुयोजना अनुसारका विद्युतीकरण, टेलिकम्युनिकेशन, विभिन्न सडक, ढल निकास तथा स्युरेज व्यवस्थापन, विभिन्न पोखरी निर्माण र सौन्दर्यकरणको काम बाँकी रहेको भट्टराईले बताए । आगामी दुई वर्षभित्र गुरुयोजना सम्पन्न हुने लुम्बिनी विकास कोषले दाबी गर्दै आएको छ । गुरुयोजनाको बाँकी २५ प्रतिशत काम पूरा गर्न रू. सात अर्ब ५० करोड लाग्नेछ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि छुट्ट्याएको डेढ अर्ब रुपैयाँ प्राप्त भइसकेको कोषले जानकारी दिएको छ ।