मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु



काठमाडौं, पुस २९। पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ भलादमी चोक स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

गए राति करिब ११ बजेको समयमा भएको दुर्घटनामा घाइते भएका तीनैजनाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। मृत्यु हुनेमा मनहरी ८ सिमपानी बस्ने ३२ बर्षका धर्मराज मोक्तान, सोही स्थानका अन्दाजी ३०/३२ बर्षका मिलन मोक्तान र राक्सिराङ गाउँपालिका ३ लावतीका अन्दाजी ३०/३२ बर्षकै रुपेश तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। तामाङको मेडिकल कलेज पुर्‍याउने बित्तिकै मृत घोषणा गरिएको थियो भने मोक्तानद्वयको उपचारको क्रममा मृत्यु भएको हो।

राति ११ बजे ना ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना भएको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मनहरीको टोली घटनास्थल पुगेको थियो। घटनाको प्रकृति हेर्दा स्कुटरलाई कुनै सवारीले ठक्कर दिएको जस्तो देखिएको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्