२० लाख धरौटी बुझाएर रिहा भए नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप



काठमाडौं,पुस २९ । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी बुझाएर रिहा भएका छन् ।

उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार (पुस २८ गते) उच्च अदालत, पाटनले आदेश दिएको थियो ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो । किशोरी बलात्कार गरेको आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

अदालतले लामिछानेलाई उपत्यका छाड्न पनि रोक लगाएको छ । उपत्यका छाड्नुपर्ने भए जिल्ला प्रहरी परिसर, काठमाडौंलाई लिखित जानकारी दिनुपर्ने भनिएको छ । सर्तहरुको प्रभावकारिताका लागि लामिछानेको गतिविधिमाथि निगरानी राख्न प्रहरीलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्