जलविद्युत् केन्द्र बन्दै सङ्खुवासभा



सङ्खुवासभा, माघ १। मेन्छ्याम जलविद्युत् परियोजनाको उद्घाटनसँगै सङ्खुवासभा जलविद्युत्को ‘हब’ बन्ने चर्चाले जिल्लावासीमा खुसीको तरङ्ग फैलिएको छ । हुन त मेन्छ्याम जलविद्युत् परियोजना ४.७२ मेगावाटको मात्र हो तर यससँगै सङ्खुवासभामा २२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यसले यहाँको विद्युत् विकासको सम्भावना भने बढाएको छ ।

सङ्खुवासभामा हाल सानो क्षमतामा मात्र विद्युत् उत्पादन हुँदै आए पनि भविष्यमा जलविद्युत्को ‘हब’ बन्ने निश्चित छ । पाँच हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता भएको सङ्खुवासभामा हाल एक हजार १६७ मेगावाट क्षमताको जलविद्युत् परियोजनाको निर्माण भइरहेको छ । विद्युत् विकास विभागको तथ्याङ्कअनुसार हाल १५ वटा प्रवद्र्धक कम्पनीले विद्युत् उत्पादनको इजाजत लिएर निर्माण गरिरहेका छन् ।

एक हजार २५८.१ मेगावाट विद्युत् उत्पादनका लागि पाँचवटा कम्पनीले उत्पादन अनुमति माग गर्दै निवेदन दिएको विभागले जानकारी दिएको छ । सङ्खुवासभामा जलविद्युत्का १८ वटा परियोजनाका लागि सर्भे लाइसेन्स लिएर अध्ययन भइरहेको छ । ती परियोजना सञ्चालन भए दुई हजार ८७.६५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

यसबाहेक छ सय मेगावाट क्षमता भएको लोअर अरुण जलविद्युत् परियोजना अरुण तेस्रो प्रवद्र्धक सतलज जलविद्युत् निगमलाई दिने सरकारले निर्णय गरिसकेको छ । हालसम्मको तथ्याङ्कअनुसार सङ्खुवासभामा पाँच हजार १२५.७५ मेगावाट क्षमताका जलविद्युत् परियोजना निर्माण तथा अध्ययनक्रममा छन् ।

सङ्खुवासभाको अधिकांश विद्युत् उत्पादन माथिल्लो क्षेत्रमा छ । भोटखोला र मकालु गाउँपालिकामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न मकालु गाउँपालिका–४ को हाइटारमा सब–स्टेसन निर्माण गर्न लागिएको छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्