पोखरा दुर्घटनापछि क्यानद्वारा नेपालमा सञ्चालित सबै एटीआर जहाजको प्राविधिक परीक्षण



काठमाडौं,माघ ३ । पोखरामा आइतवार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटीआर जहाजको प्राविधिक परीक्षण गरेको छ ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले आज साँझ विज्ञप्ति जारी गर्दै पोखरा विमानस्थल नजिक भएको यती एयरलाइन्सको विमान दुर्घटनापश्चात् क्यानका सुरक्षा निरीक्षकहरूबाट नेपालमा सञ्चालित सम्पूर्ण एटीआर–४२ तथा एटीआर–७२ वायुयानको थप विस्तृत प्राविधिक परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको जानकारी दिए ।

जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि सबै एटीआर विमानको प्राविधिक परीक्षण गरिएको हो । परीक्षणका क्रममा उपरोक्त वायुयानहरूमा कुनै प्राविधिक त्रुटि फेला नपरेको पनि क्यानले उल्लेख गरेको छ ।

कुनै पनि वायुयानको नियमित उडान योग्यता (एयरवर्दिनेस) का लागि दैनिक गरिने ‘डेली इन्सपेक्सन’, उडानपूर्व गरिने ‘प्री फ्लाइट इन्सपेक्सन’ जस्ता मर्मतसम्भारका कार्यहरू अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीका मापदण्डबमोजिम गर्ने गरिएको क्यानले विज्ञप्तिमा जनाएको छ ।

यही माघ १ गते आइतवार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन नाइन–एएनसी (एटीआर–७२–२१२) विमान पोखरा अन्तरराष्ट्रिय विमानस्थल नजिकै सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

दुघर्टनाग्रस्त विमानमा सवार चालकदलका सदस्यसहित ७२ सवार थिए । दुर्घटनास्थलबाट ६९ जनाको शव फेला परेको छ भने बाँकी तीन जनाको खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्